
मैले बाटो खनेँ र देश हिँड्ने भयो
उसले खाड खन्यो
र, आफैँ खाडलमा पर्यो
मिहिनेत परिश्रम दुवैको बराबरी थियो
लागत बराबरी थियो
परिणाम फरक थियो
मिहिनेत परिश्रममा आग्रह थियो
विचार व्यवहारमा पूर्वाग्रह थियो
लागतमा प्रतिशोध थियो
खाडल खन्दै गर्दा
मनमा पालेको हुन्थ्यो-
ईर्ष्या, द्वेष, कुण्ठा…
प्रतिशोधको ज्वाला दन्किने क्षणमा हुन्थ्यो
खाडलमा उन्नति, समृद्धि, विकास खोज्थ्यो
ऊ कुरुप देख्थ्यो बाटोलाई
बाटोले गन्तव्यमा पुर्याउँछ भन्ने बिर्सेको थियो
यथास्थितिवादी, प्रतिक्रियावादी
एकै खाडलमा पुर्छु भन्थ्यो
सम्याउन थाल्यो खाडलको पिँधलाई
खाडलको समय आयो रे थपिए पनि
एक समय यस्तो आयो
खाडलको औचित्य समाप्त भयो
अनि पुर्न लाग्यो एकाएक
खाडल पुर्दै जाँदा चुनौतीको पहाड खडा भयो
चुनौती फलामको च्युरा सरी भयो
यता बाटो भने स्तरोन्नति भयो
बाटोमा अवसर थपिए
प्रशस्त संभावना भेटिए
उन्नति, समृद्धि, विकासको बाटोले
नयाँ गन्तव्य पहिल्यायो
अन्तरकुन्तरमा खाडल माथिको
विश्वास जीवन्त देखिन्छ
सडेगलेका झारपात जुर्मुराउन खोज्छन्
जस्तोसुकै विसम मोल्न पनि
खाडलका लागि तयार छन्
अन्ततः खाडल प्रतिशोधको प्रतीक हो
प्रतिशोधले कसैको भलो गर्दैन
प्रतिशोधको अग्निले स्वयंलाई डढाउँछ
बाटो सृजनाको प्रतीक हो
विकासको पूर्वाधार हो
गन्तव्यमा पुर्याउँछ
मैले बाटो खनेँ र देश हिँडने भयो
उसले खाड खन्यो
र, आफैँ खाडलमा पर्यो ।
परशुराम १२ उनरुवा, डडेल्धुरा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

