बाबु !
तिमी त परदेशी
लाग्छ कुशलै छौ
काल पर्खदै बसेको
आशाको डोरीमा झुन्डिएर बाँचेको
तिम्रो वृद्ध बाबुको
तिमीलाई शुभ प्यार !

चुँडिएको चङ्गाझैँ बत्तिएर परदेश पुग्यौ
कुँडिएको मन लिएर गाउँ सम्झदै हौला
दशैँ र तिहारको रमझम पक्कै
आँखाभरि झलझली सम्झियौ होला
अचेल हाम्रो गाउँमा
पिङ हाल्न सकिएको छैन
पिङ खेल्ने पनि छैनन् कोही
हामी बुढाबुढीहरू तिमीहरू आउने आशामा
खेल्छौँ प्रतीक्षाका पिङ

बाबू !
सन्ते, बुधे, बिर्खे सब विदेशिए
पल्लाघरे, माथ्लाघरे सब सहर भासिए
बाबियो बाट्न छाडेर
तिमीहरू सपना बाट्दै छौँ
आँसु आँखाका डिलबाट पिङ खेल्छन्
त्यही आँसु पिउँदै बसेका छौँ हामी

छोरा आउने बाटो हेर्दाहेर्दै
क्षितिजपारि आँखा ओछ्याउँदा
धमिलिएका आँखा लिएर बसेका छौँ
पक्कै तिमी आउँछौ भनी
देउसिरेको रौनक हरायो
गाउँ छाडेका युवाले
बिर्सिएको बलि राजाको कथा
यसै हराइजाला कि ?
मखमली र सयपत्री यसै बोटमा ओइलिए
बहिनीले माला गाँसिनन्
भाइ पनि आएनन्
परदेश र शहरले
कृत्रिमताको रहरले
खुसी खोसिएको गाउँबाट
परदेशी छोरालाई एक चिठी
वृद्ध बाबुको ।