बरू पुरै कण्ठस्थ छ पासपोर्ट नम्बर
तर थाहा छैन नागरिकता कता छ
अहं थाहा छैन नागरिकता कता छ

हुन सक्छ कुनै बाकस भित्रको भित्रतिर
आफ्नो अस्तित्व बिर्सेको
तस्बिर बिर्सेको
हुन सक्छ कुनै जुत्ता राख्ने टेबलमुनि
मोजाको गन्धसँगै
नमिठो दुर्गन्ध दिइरहेको
हुनसक्छ कुनै फोहोरी डस्टबिनभित्र
छोराले फोहोर सोचेर
फोहोरहरूमा मिल्काई दिएको
हुन सक्छ कुनै कवाडीको गोदाममा
नातीले बरफको निम्ति
बिक्री गरिदिएको

अँ साँच्चै, कता कता हराए हराए
मेरो देशले दिएका कागज
कतै देख्नु भयो भने तपाईंले
नभनी दिए पनि हुन्छ
कतै भेट्नु भयो भने तपाईंले
फिर्ता नदिए पनि हुन्छ

यहाँ दिन नसकेपछि
राष्ट्रिय परिचय पत्रले परिचय
आफैँ बेपत्ता हुन पुगेको हो
राष्ट्रिय परिचय पत्र
विदेश श्रमिक परिचय पत्र
घाँटीमा झुण्डिएपछि
विवशताले झुण्डिएर मर्न पुगेको हो
देशको राष्ट्रिय परिचय पत्र
पहिले जनयुद्धले अहिले भोक युद्धले
कमजोर हुँदै मूल्यहीन हुँदै
अहिले डस्टबिनभित्र पुगेको हो
विचरा नागरिकता ।

सुर्खेत