सबैतिर देख्छु दोस्ती नै दोस्ती-
रहरैपिच्छेक़ो दोस्ती
जहरैपिच्छेको दोस्ती
प्रणय र विच्छेदको दोस्ती
अँगालोमा दोस्ती
भँगालोमा दोस्ती
मधुशालामा दोस्ती
प्रेमालयमा दोस्ती
यौनालयमा दोस्ती
एउटा दुश्मन सिध्याउन
अर्को दुश्मनसँगको दोस्ती
तर, किन हो अचेल –
चहर्याउने घाउ बनिरहेको छ, दोस्ती
डँढेलोको धूवाँले छोपिएको छ, दोस्ती
हरेक घर र बस्तीमा लिलामीमा छ, दोस्ती
नचिनिने भेष पहिरिँदै नजिकिँदै छ, दोस्ती
प्रेमात्मा खोज्दै प्रेतात्मासँग टाँसिँदैछ, दोस्ती
बाँचुञ्जेल काँढा बनी मृत्युमा फूल चढाउँछ, दोस्ती
ओइलाउँदै, चाउरिँदै, निचोरिँदै र थचारिँदै
एक सुसेली सास बिसाउने
चौतारी खोज्दैछ, दोस्ती
अस्तित्वको लडाइँमा छ, दोस्ती
गहिराईको साटो किनारामा
भौँतारिंदैछ दोस्ती
औषधिको बहानामा विष पिलाउने
जमर्कोमा छ दोस्ती
जूनको कौमार्यमा
कामुकताको आनन्दी लिँदै
आफ्नै घर जलाउँदै
खरानीको महलमा रमाइरहेछ दोस्ती
साधुसन्तको भेषमा जताततै
बगलीमा छुरा बोकी दौडिरहेछ दोस्ती
साँच्चै भनौं भने आजकल-
मानसिक बिमारीले बहुलाएको छ दोस्ती
कैयौंचोटि मूर्छित हुँदै र बौरिँदै
ब्यर्थै अरुलाई सताउन
बाँचिरहेको छ यो दोस्ती
मुर्कुट्टाझैँ अरुलाई तर्साउन
बेलगाम लम्किरहेको छ यो दोस्ती
प्यालेस्टाइन र इजरायलजस्तै, रसिया र युक्रेनजस्तै
मानवता हराएको दोस्ती
गोलाबारूदमा पड्किरहने दोस्ती
विज्ञानको प्रहारबाट लगातार
वियोग र विनाशमा बहादुरी देख्दैछ दोस्ती
उफ् ! कहाँ पाइन्छ सच्चा दोस्ती ?
सुदामाले देखाएको दोस्ती
बुद्धले सिकाएको दोस्ती !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।