हिजो एक अर्कालाई सिद्ध्याउन उद्यत थिए उनीहरू

आज एक अर्कालाई फूलमाला लगाइदिइरहेका छन्

आजकै जस्तो सदव्यवहार पहिल्यै देखि हुन्थ्यो भने

मालतीको सिउँदो पुछिँदैनथ्यो होला

खन खन बज्ने उसका नाडीका चुराहरू

फुटाउनु पर्दैनथ्यो, हातैमा शोभित रहन्थे होला

ती साना साना नानी बाबुहरूले आफ्नो बा खोज्दा

आकाशको ठूलो तारालाई औल्याउँदै

‘ऊ त्येही हुन तिमेरका बा’ भन्नु पर्दैनथ्यो होला ।

 

त्यसरी नै बम विस्फोटबाट

मोहनका दुवै खुट्टा काटिँदैन थिए होला

परिवारको पुरै दायित्व सँभाल्ने एक्लो ऊ

आँखाभरि आँसु लिएर नानीबाबुलाई सुमसुम्याउँदै

कसरी पढाउनु-बढाउनु यिनीहरूलाई भन्दैनथ्यो होला

सत्तरी वर्षका वृद्ध पिताले

मोहनका परिवारका लागि हलो जोत्नु पर्दैनथ्यो होला

त्यसरी नै छिमेकी बुढी आमाको

जिउने सहारा भाँचिन्दैनथ्यो होला

पूर्णयौवनावस्था की नवदुल्हनले

मध्यरातसम्म आकाशका तारा गन्नु पर्दैनथ्यो होला

आफ्ना सुहागसँग रमण गर्ने बेलामा

अश्रुधारामा नुहाउनु पर्दैनथ्यो होला

वृद्ध आमाबुबाले प्रत्येक दिन-रात

पुत्र वियोगमा छटपटिनु पर्दैनथ्यो होला

हृष्ट-पुष्ट शरीर

हड्डीको फ्रेम बन्दैनथ्यो होला

आज एक अर्कालाई फूलको माला लगाइदिनेहरूलाई

गाली-गलौजका साथ श्राप दिदैँनथिए होला

 

कहिले आतङ्कीबाट जनता पिसिए

कहिले सेनाबाट जनता कुल्चिए

कहिले सुराकीको आरोप झेल्दै

कहिले असहयोगको लाठी खाँदै

 

मलाई सोध्न मन लाग्छ

तिमीहरू माला लगाइदिने दुवैजनालाई –

क्रान्तिबाट देशले के पायो त

युद्धबाट देश के समृद्ध भयो त ?

समृद्धि भयो त केवल तिम्रो भयो

तिम्रा आफन्त र तिम्रा आसेपासेको भयो

केही भ्रष्टाचारीको भयो,केही अवसरवादीको भयो

जनताको हात त खाली को खाली रह्यो ।

 

तिम्रो त समृद्धि भयो, तिम्रो झुपडी महल भयो

तिम्रो कुपोषित शरीर हृष्ट पुष्ट भयो

नुक्सान त मालती जस्ता हजारौँ नारीको भयो

मोहन जस्ता हजारौँ युवकको भयो

सत्तरी वर्षका चाउरी परेका हजुरबाको भयो

छिमेकी की बेसहारा हजुरआमाको भयो

नवविवाहित नवदुल्हनको भयो

वास्तविक समृद्धि चाहने क्रान्तिकारीको भयो ।

 

तिम्रो त केही बिग्रेन

किनकि तिमी त आदेश मात्र दिन्थ्यौ

या त कमरेड भन्दै या त राष्ट्र सेवक सेना भन्दै

जङ्गलमा बस्ने नि सुरक्षित बस्यौ,

संसदमा बस्ने नि सुरक्षित बस्यौ

बोलीको प्रभावमा पारेर अरूको खुन उमालेऊ

अरूलाई नै युद्ध लड्न पठायौ

अरू नै मरे अरू नै शहीद भए

आफूले भने महान् नेतृत्वको उपाधि थापेऊ ।

 

अब फेरि फूलको माला लगाउने तिमीहरू

स्वार्थको वशमा परेर या कुनै बाहना गरेर

फेरी एक अर्काका दुश्मन भयौ भने

र जनतालाई फेरि बलिदिने कार्य गर्यौ भने

जनता पहिलाको जस्तै प्रयोग हुने वाला छैनन्

तिनीहरू उठ्नेछन् तिमीहरूको विरुद्ध खनिनेछन्

मालती हँसिया लिएर आउने छिन

मोहन खुकुरीको धार बनाउने छन्

सत्तरी वर्षका वृद्ध हजुरबा तरबार लिएर आउनेछन्

छिमेकी बुढीआमा फरवा लिएर आउनेछिन्

नवविवाहिता छुरी लिएर आउनेछिन्

अरू जसले जे भेट्यो त्यही लिएर आउनेछन्

अनि मात्रै कहलाइने छ जनताको क्रान्ति

त्यस पछि हुन्छ क्रान्तिको अन्त्य

अनि मात्र उदाउनेछ समृद्धिको सूर्य ।