कलेजोको जोर्नीलाई उधारेर
घामले अगुल्टो निकालेको छ
मैले कलमको निबलाई अँगारमा डुबाएको छु

कविताका पृष्ठहरूबाट
एकजोर प्रेमका फूलहरू
पाना पल्टाउन नपाउँदै बिलाएका छन्

जिब्रोमा फुलेका काँडाहरू
मुटुको चँदुवालाई छेड्दै
भीष्मका सरशैयामा लेप्सिएका छन्

मैला भित्ताहरूमा पोतिएका छन्
कलमको पेट निचोरेका रङहरूले
आजको रात कलमले अशौच बार्नेछ

जूनको ओठ काटिएको छ
नुन र चुक लिएर अगाडि बढेका छन्
सपनाका घाइते हातहरूले

दूधको गिलासमा अमिलो मिसाएपछि
बैँसको गाँठो फुस्किएको छ
एक थोपा आकाश भीडमा हराएको छ

मन्दिरको छानामा फरफराइरहेको झण्डा
बारुदको झिल्कोले प्वाल पारेपछि
विधवा गीत सुसेली रहेको छ

समुद्रबाट एक थोपा सुकेको छ
यात्राबाट एउटा लय टुटेको छ
गीतबाट एउटा अक्षर फुक्लिएको छ

आरनको तपनबाट फुत्केर
एउटा प्वाँख हावामा उडेको छ !