मुखौटाभित्र मुखौटा
मुखौटाभित्र अर्को मुखौटा
पत्रै पत्र तहै तह
मुखौटै मुखौटा
ढाकिरहन्छन् अनुहार
छोपिएका छन् भावभङ्गीमा
फेरिन्छ अनुहार
आवश्यकताअनुसार,
स्थानअनुसार
स्वार्थका मुखौटा लगाएर
लगाउँछन्, झिक्छन् अनि
फेरि लगाउँछन्
हरेक क्षण पृथक् पृथक् मुखौटा
बासँग एउटा आमासँग अर्को
बुढा/बुढीसँग एउटा छोरा/छोरीसँग अर्को
साथीभाइसँग एउटा पराईसँग अर्को
परिचितसँग एउटा अपरिचितसँग अर्को
घरमा हुँदा एउटा बाहिर अर्को
एक्लो हुँदा स्वयम्सँग एउटा
अरूसँग अर्को
एकान्तमा एउटा भिडमा अर्को
दिनमा एउटा रातमा अर्को
क्षणक्षणमै फेरिरहन्छन् मुखौटो
को के हो थाहै हुन्न ?
को के हो पत्तै हुन्न ?
कस्को असलियत कस्तो
सकिंदैन बुझ्न
कसको नियत कस्तो
असम्भव छ नाप्न
हे मुखौटाधारी प्राणी !
ऐनामा हेर्दा आफूलाई
कुन मुखौटा लगाएर हेर्छौ ?
आफ्नो क्रूर मुहार
हेर्न सक्छौं भ्रमको मुखौटो बिना ?
थकाइ लाग्दै तिमीलाई
अनवरत मुखौटा फेरिरहन ?
कुन दिन आफ्नैलाई
तिम्रो कुन मुखौटोले
कोपर्छ
चिथोर्छ
मार्छ
सोचेर डर लाग्दैन तिमीलाई ?