साँच्चि कै आफैलाई बेच्दै छु ।
अमूल्य मूल्यमा,
बजारमा होडबाजी चल्दै छ मेरो मूल्यको,
व्यापारको के कुरा गर्छौ तिमी,
म सँगसँगै,
मेरो पहिचान,
मेरो अस्तित्व
मेरा जिम्मेवारीहरू,
सबै बिक्रीमा छन्
भन तिमि मसँग के किन्ने हतारमा छौ ?
मेरो पहिचान,
मेरो इज्जत
मेरा जिम्मेवारी ?
म थाकिसके सबैका प्रश्नहरूबाट,
अब त मैले भन्नै पर्छ विवाह गर्छु,
ती आफन्तहरूलाई,
परिवार र समाजलाई ।
उनीहरूलाई के थाहा मेरा सपनाहरूलाई बेच्दै छु भनेर,
के थाहा मेरा चाहाना र इच्छाहरूको हत्या गर्दै छु भनेर,
बस,
उनीहरूलाई यति थाहा छ कि म विवाह गर्दै छु ।
समाजमा चलिआएका मान्यतालाई म प्रमाण दिँदै छु ।
परिवारले छोरीको भविष्य सुरक्षितका लागि ज्वाइँ,
आफन्तले फलानाको छोरीले विवाह गरी भन्नका लागि
समाजले छोरी मान्छे हो बिहे गर्नु पर्थ्यो, बिहे गरी
तर,
ढिलो गरी, यी सब भन्नका लागि ।
त्यसैले सम्बन्धको अन्त्य हुने त्रासमा,
अरुचाइएको सम्बन्धमा जोडिनु
साँच्चै,
आफूले आफैलाई माफ दिने सामर्थ्य छैन ।