फुन आउँछ कि भन्थ्यौ काइँला

यतिखेर फुन्को आश नगरेस्

यतिखेर गाउँका फुनहरू शहर पसे

शहरकाहरू, परदेशकाहरू दशैँ मनाउन गाउँ गाउँ पुगेर बसे ।

जालो लागेको दैलो खोल्दैछन्

हरिया भएका भाँडा–बटुका मोल्दैछ्न् ।

गाउँका केही मित्रहरू होङ्कोङ बेलायत ताकेर उडे

कसरी पो पुग्लान् छोरी ज्वाइँलाई दशैँको टीका लाइदिने भन्थे

सधैँको लागि उतैबाट माथितिर उड्ने पो हुन् कि ?

अस्ट्रेलिया अमृकादेखि उडेका कति

डिले भएका हवाईजहाज आकाशमै मरेर उड्दैछन् ।

जसरी नि भोलि गाउँ टेक्नु छ

बाजे तुलसामोठमा छन् भन्थे

सिधै घाट जानू कि घर ! मन दोधार छ

यता पनि हामी घाटैमा पुगेर फिरेका हौँ

इज्रेल र गाजामा कसरी बाँच्यौँ भन्नू !

एक सय जति ता युक्रेनकै च्यानघारीमा लड्यौँ

तैपनि यी लाशहरू घर पु¥याऊँ भनेर उडेका मत्रै

कुनैले दोभाने घाटमा पुगेर जीवन आतङ्कको अन्त्य गरौँला

कुनै थुम्की डाँडाको च्यानघारीमा पसेर सदाको लागि

लुकौँला भनेर पो उडेका त !

फुनहरू आफैँ जीवन मरनको दोसाँधमा छन्

ती हर्ष र बिस्मातको दोभानमा छन्

गाउँकाले फेरि विदेश पस्नु छ

नसक्नेहरू जति फेरि देशमै बस्नु छ

तिमी हिँडेपछि पो आमा जाने हुन् कि

यो मलामी रित्तिएको गाउँ छोडेर ।

चल्निबसेको यो देशै यतिबेला ता लम्पसार छ

यतिबेला राच्छेसहरू देश टोकिरहेका छन्

उज्यालो नभै चबाएर सिद्धयाउँछन् होला  ।

“छ्या ! तेसरी दाँतै गाड्दा मातृभूमिको देहभरि बिख सर्छ” भन्छ सन्सार

तर उनीहरू भन्छन् “यसरी नै देश विकाश गर्नु पर्छ ।”

बाँकी रहेछ भने मातृभूमिको दर्शन गर्न

एकदिन आउँला भन्थे केनाडा पुगेका तिम्रा ज्वाइँ  तर

देश टोक्नेहरूको पनि त्याग सानो छैन

हेर्नोस् न  पजेरोमा पसेर देश चबाउनु कम्ता मुस्किल छ र !

त्यसैले फुन बिर्स काइँला जिउँदै छौ भने

बरु एकपल्ट बरडाँडासम्म पुगेर दशैँको लिङ्गे पिङ मच्चाऊ

एकपल्ट  धर्ती छाड्न सिक सदाको लागि छोड्ने पनि दिन आउँछ

सत्तासीनहरूले तिम्रो पनि पालो मिलाउँदै छन्

यहाँ बसे पनि

अन्याय र अत्याचारले मर्ने हो

कतै परदेश उडे नि चिन्ता र पीरले मर्ने हो

अब फुन बिर्स काइँला

ह्याप्पी दशैँ अनि दीपावलीको शुभकामना ।