मेरो शिर ओतेर ममाथि सुतेको आकाश
एउटै देख्छु नीलै रङमा
मेरो कान छोएर भाग्ने चिसो बतास
उस्तै बगेको पाउँछु बेहिसाब

तर
तिनको भाका फरक मान्छ
छातीमा धड्किरहेको मरो मुटु
जूनको सन्देश फरक देख्छ
निधार अड्याइरहेको मेरो आँखा


पर-देशमा छु

मैले मेरो जून पर… छाडेको छु
मेरै घरको धुरी साक्षी राखेर
पानी बग्ने कुलो उतै छाडेको छु
मेरै हत्केलाको रङ पोतेर

यता भेटेको ध्रुवतारा
बेहद एक्लोजस्तो लाग्छ
यता भेटेको आकाश
निफनेपछिको खाली नाङ्लोजस्तो हुन्छ

किनकिन
मेरा आँखा भरिन त
जून
मेरै टाकुरीमा छोइने भएर फुल्न पर्दोरहेछ
ताराहरू
मेरै पोखरीको पानीमा बात मार्ने गरेर झुल्न पर्दोरहेछ

यतिखेर
उतै आफ्नै आकाशको फूलबारीमा फुलेका जूनतारा टिपिरहेछन्
मेरा आँखाहरू !

खोस्नेहरू होसियार
मेरो छाती झन् धारिलो भएको छ
ओरालो बगिरहेको नदीजस्तो !