खाली खुट्टै कुदेको त्यो क्षण !
हर्हरी तिर्सनाले चुसिएपछि
धाराको चिसो पानी घटघटी पिएको त्यो बेला !
झ्याम्टे ऐँसेलु र झरीच्याउ खोज्ने त्यो फुर्सद !
हरिनी चरीको गुँड़मा अण्डा छाम्दाखेरि
समातेको सिरिसे साँपले अताल्याएको त्यो दिन !
अङ्ग्रेजी स्कुलको नालीमा लागेको हरियो लेउमा
एउटा कुर्कुच्चो हालेर स्केटिङ खेलेको त्यो मज्जा !
काठको पिरा र टिनको चेप्लामा मोमबत्ती दलेर
चउरमा सिलिपिती खेलेको त्यो रमाइलो अनुभूति !
लुगाको फटाइ !
आमाको कुटाइ !
गुराँसको फूलको रस चुस्न आएका
चरचरे चरालाई खसाल्नु
क्याटिस बोकेको त्यो शिकारी ढुकाइ !
धुप्पीको हाँगा समातेर पिङ खेल्दा
हाँगासितै भुईँमा लम्पसारित
सरमपचाहा त्यो दु:खद हँसाइ !
झाङमा लुकेको भ्याकुरोलाई
हिर्काएको ढुङ्गाले निकालिदिएको
साथीको पीडामय त्यो ठूलो  “ऐया” !
सप्पै
सप्पै
सप्पै
विस्मृत बनेर पुरिनेछन् चिहानमा
कि त खरानी हुनेछन् जलेर चितामा
एकदिन मसितै ।
एइ ! ए॰ आइ॰ !
सक्छस् भने
तैँले बचाइदे है !
***
टिप्पणी: ए॰ आइ॰(AI)= Artificial Intelligence
डाउहिल,खरसाङ ।