
भूकम्पका धक्काले झैं
अचेल अभावका धक्काले
गरिबी अनि बेरोजगारीका धक्काले
रोदन र पीडाका धक्काले
प्रणाली खल्बलिएको छ
पद्धति बिग्रिएको छ सरकार
जताततै त्रास छ
बझाङ त्रसित छ सरकार
देश त्रसित छ
तर
न तिमी त्रसित छौ
न तिमी हड्बडिएका छौ सरकार
मूक दर्शक छौ र रहन्छौ
पीडैपीडाहरू थुप्रिएर
एउटा पहाड बनेको छ
न पीडाको भारी बोक्न सकिएको छ
न त उन्मुक्ति मिलेको छ सरकार
अचेल
देश छोड्नेको लर्को छ सरकार
न यो देशमा बस्न सकिएको छ
न यो देश छोडी भाग्न सकिएको छ
न ठूलो सपना छ
न ठूलो आशा छ सरकार
मात्रै
भोको पेट पाल्न एक छाकको अभाव छ
नालाबाला ओत लाग्ने
एक झुपडीको अभाव छ
दुःखमा मल्हम लगाउने सरकार चाहिएको छ
देश बहुप्रकोपको चपेटामा छ
जनजीविका खल्बलिएको छ सरकार
कहिले भूकम्प
कहिले बाढी त
कहिले असिना र पानीले
जीवन कष्टकर बनेको छ
त्रिपाल मुनिको जीवन
त्रासै त्रासैमा छ सरकार
राहत अझै पुगेको छैन
सरकार पुगेको छैन बस्तीमा
न नीति न योजना पुगेको छ
मात्रै आश्वासनका पोका
अनि भ्रमपूर्ण भाषण मात्रै पुगेको छ
दशैं आएर पनि गयो सरकार
राहत आएन
सरकार हरायौ कि कतै ?
खोज्नै पर्ने भो अब त
देश नै बिरामी भा छ सायद
उपचार कहिले हुन्छ सरकार ?
सन्चै छौ कि बिमार छौ सरकार ?
अब त जवाफ चाहियो सरकार ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

