अनिदोमा बितेका ती रात
सिर न पुच्छरका ती बात
समयको खोलामा नहराएका
उहिलेका अमिलापिरा याद
चाल नपाउँदै नजिकिएका
उमेरका अनेक हद म्याद
गन्तव्यविहीन अन्धो दौडमा
छुट्टिएदेखि नफर्किएका हात
जीवनमरणको भुमरीमा परेर
मध्य बाटोमा गुमेका साथ
मनको गर्भमै तुहिएका केही कामना
बलात् मार्न नसकिएका थोरै चाहना
ठामठाममा पछुतोका बाछिटा अनि
पश्चातापका कथा पनि कति हुन् कति
यिनै कुराहरू थुपारेर लाटो मान्छेले
लेख्यो एक उटपट्याङ किताब
र, नाम राखिदियो – जिन्दगी ।