
म शब्द हूँ
लाखौँ वर्ष भइसक्दा पनि
आफ्नो लागि कुनै देह नपाएपछि
मैले तिम्री छोरीको देह पहिरेको छु
तिम्री छोरीले अहिले चिजबीजहरूलाई गरिरहेकी सबै स्पर्शहरू
लाखौँ वर्षअघि
मभित्र खसिरहेका जङ्गली पातहरू हुन्
तिम्री छोरीले अहिले पाठ गरिरहेकी यी श्लोकहरू
लाखौँ वर्षअघि
मभित्र उडिरहेका चराहरू हुन्
म शब्द हूँ
तिम्री छोरीले अहिले गाइरहेकी यो गीत
हजार वर्षअघि नै
राजा मानदेवको दरबारभित्र मैले सुनिसकेका
ढुङ्गा, तामा र फलामका आवाजहरू हुन्
म शब्द हूँ
मैले तिम्री छोरीको देह पहिरेको छु
तिम्री छोरीले अहिले कोरिरहेकी यो चित्र
हजार वर्षअघि नै
मसित दूध दुहिरहेका ग्वालाहरूका विचारहरू हुन्
तिम्री छोरीले अहिले चाखिरहेकी सबै स्वादहरू
लाखौँ वर्षअघि नै
मैले टोकिसकेका जङ्गली कीराहरु हुन्
म शब्द हूँ
आफ्नो लागि कुनै देह नपाएपछि
मैले तिम्री छोरीको देह पहिरेको छु
तिम्री छोरीले अहिले लेखिरहेकी यो कथा
हजारौँ वर्षअघि नै
मैले भेटिसकेका बाघ, भालु, चमेरो, हाब्रेहरू हुन्
तिम्री छोरीले अहिले बाचिरहेकी यो कविता
हजार वर्ष अघि नै
राजा यलम्बरसित रक्सीले मात्तिएर
मैले चपाएको जङ्गली लहरा हो
म शब्द हूँ ,
लाखौँ वर्ष भइसक्दा पनि
आफ्नो लागि कुनै देह नपाएपछि
मैले तिम्री छोरीको देह पहिरेको छु
तिम्री छोरीको सपनामा आइरहने
यी बोल्ने कुर्सी, हाँस्ने चरा, कराउने बाल्टिनहरू
मैले राजा धर्मदेवको पालामै
भलाकुसारी गरिसकेका मान्छेहरू हुन्
तिम्री छोरीको सपनामा आइरहने यी भूतप्रेतहरू
मैले राजा अंशुवर्माको शासनकालमा फ़ुटाएका
माटाका भाँडाहरू हुन्
म शब्द हूँ
मैले तिम्री छोरीको देह पहिरेको छु
तिम्री छोरीको सपनामा आइरहने यो आत्मा
मैले हजार वर्ष पहिले नै छोइसकेको
राजा नरेन्द्रदेवको शरीर हो
तिम्री छोरीको सपनामा आइरहने यो सुगन्धित घाम
हजारौँ वर्षअघि नै
मैले हेर्दाहेर्दै
माटो र पतिङ्गरले छोपिएका
मानिसहरूका हाडहरू हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

कविताः राजा जयस्थिति मल्लको मनबाट निस्केर भागिरहेको यो कुलो
