दसैँ वर्षा व्याधि हिलो गयो पर कतै सङ्ग्राम बाढी पनि
लाम्खुट्टे उपियाँ किरा उडुस ती भागे कता आज यी
गर्मी बादल मेघ गर्जन सबै हुस्से हरायो किन ?
आयो दिव्य शरद् सफा चमकिलो टीका दसैँको लिन ।। १
==========
जाडो छैन हुरी बतास न कुनै आँधी बिलायो कता
खोला स्वच्छ तथा जलाशय भरी पानी छ सङ्लो यता
डाँडा जङ्गल फाँट छन् रहरिला डुल्ने र हेर्ने भरे
साह्रै शान्त र संयमी प्रकृति छन् आनन्द गर्ने गरे ।। २
==========
बाटा घाट सनक्क छन् सब यहाँ गल्ली कुना चोक ती
चिप्लो लेउ र झ्याउ वा सिकसिको फोहोर मैला जति
हैजा रोग जुका तथा सुलसुले छैनन् गँड्यौला पनि
आयौ आज विचार साथ दशमी सौभाग्यकी वाहिनी ।। ३
==========
सेवा भाव हराउदैछ जनमा कर्तव्य बिर्सन्छकी ?
पैसा मात्र कमाउने रहरले पाखण्ड जन्मन्छकी ?
देऊ बुद्धि समाजमा र जनमा आत्मा पखालुन् अझै
तिम्रो शक्ति प्रसाद साथ जमरा लाएर हिँड्छौँ सबै ।। ४
==========
भागोस् क्रोध घृणा र द्वन्द्व झगडा भागोस् बिकामे पन
भागोस् दुःख अभाव भोक सबको भागोस् यहाँ निर्धन
भागुन् शत्रु सबै दुराशय अझै भागुन् अधर्मीहरू
पाऊँ शक्ति असाध्य हे भगवती सम्मानले भन्दछु ।। ५
==========
आऊन् दिव्य बिहान सभ्य दिन ती आऊन् सदाचार ती
आऊन् स्वर्ण समान वर्णन मिठा आऊन् यहाँ रामजी
आओस् न्याय निसाफमा सरलता आओस् अहो भाग्य
त्यो आशीर्वाद लिएर आउँछु सदा प्यारो दसैँ भन्छ यो ।। ६
इलाम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।