कृपया ! उसलाई हालखबर नसोधियोस्
सदा~सदा अनन्तसम्म क्षतविक्षत थियो ऊ
नसोधियोस् उसलाई नयाँनौलो
सदा सदा अनन्तसम्म क्षतविक्षत थियो ऊ
अँध्यारोमा
अँध्यारोका विरुद्ध
अँध्यारोकै निमित्त
उज्यालोको गीत गाउँदागाउँदै
धर्रर बादलका टुक्राहरू च्यात्तिएर
झरीले एकोहोरो चुटेको जुनकीरीजस्तो
दौडँदा दोडँदै कुर्कुच्चा फुटेका बतासले हिर्काएर
झरेका शरदको पहेँला पातजस्तो
कुल्चँदा कुल्चँदै प्वालै प्वाल परेको छाती बोकेर
एकनासले सुतिरहेको मुर्दा सडकजस्तो
कौवाले छरपस्ट छेरेको टाउको लिएर
निरीह एक्लै उभिरहेको बुख्याँचा सालिकजस्तो
हेर्दाहेर्दै आँखैअगाडि पहिरोले भासिएको पहाडजस्तो
खडेरीले चिरा परेको काकाकूल खेतजस्तो
अणु, परमाणु खसेको कुनै युद्धमैदानजस्तो
खण्डहर भैसकेको गाउँको पुरानो पाठशालाजस्तो
…..
…..
यस्तै यस्तै केही थियो ऊ
सदा सदा अनन्तसम्म क्षतविक्षत थियो ऊ
सर्पले ठुँगेर अलपत्र लडिरहेको त्रसित घाइतेजस्तो
सिङ्गै बस्तीमा आगो लागेको नमिठो समाचारजस्तो
क्षयग्रस्त दुर्घटनास्थलमा एकैसाथ बजिरहेका
कयौं एम्बुलेन्सका कारुणिक आवाजजस्तो
पक्षघात भएर ठसठसी कनेर घुमिरहेको
सिलिङको रोगी पङ्खाजस्तो
जिन्दगी बाँच्न बिरामीले
भेन्टिलेटरमा सकी‑नसकी लिइरहेको श्वासजस्तो
……
……
यस्तै यस्तै केही थियो ऊ
सदा सदा अनन्तसम्म क्षतविक्षत थियो ऊ
घाम नलागेर कठ्याङ्ग्रिएको नाङ्गो दिनजस्तो
तारा नउदाएर रित्तै भएको आकाशजस्तो
हात हल्लाउँदै हल्लाउँदै
आँगनबाट पर पर भएर
मुगलान छिर्दाको लाउरे सपनाजस्तो
बालुवाको क्यानभासमा
सम्मुनत भविष्यको रेखाचित्र कोर्दाकोर्दै
पिल्सिएका वयस्क औँलाहरूजस्तो
नवविवाहित दुलहीले परदेशिएको श्रीमानलाई
सपनामा खोज्दा खोज्दै ऎँठन परेका रातहरूजस्तो
‘भुत’ जस्तो डरलाग्दो ‘वर्तमान’ देखेर
अत्तालिएको बालकको अनुहारजस्तो
दीर्घरोगले थलिएको एक्लो कठिन वृद्धउमेरजस्तो
यी सबै यादका ठुटाहरू
लगातार आफ्नो छातीमा पोलिरहन अभिशप्त ऎस्ट्रेजस्तो
कुनै कविले आफ्नो पुरै हृदय निचोरेर
लेखेको एउटा दुखान्त कविताजस्तो
….
….
कृपया ! उसलाई हालखबर नसोधियोस्…
सदा सदा अनन्तसम्म क्षतविक्षत थियो ऊ
नसोधियोस् उसलाई नयाँनौलो
सदा सदा अनन्तसम्म क्षतविक्षत थियो ऊ ।
(कवि हरिभक्त कटुवालप्रति समर्पित ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।