मधु-मालतीको कथाजस्तै
बालापनमै बिछोडिएकी
मेरी ती संगिनीलाई खोज्न चाहन्छु

किशोर हुँदा –
मध्याह्नको त्यो टन्टलापुर घाममा
बल्छी र गुलेली खेल्दै हिन्ने
मेरा संगीहरूलाई भेट्न चाहन्छु !

ठिटो हुँदा –
स्कुल जाँदा सँगै जाने
जंगलतिर गाई बाख्रा चराउन जाँदा
लुकी छिपी माया प्रीति लाउने
आफ्नी जस्ती भएर पनि
आफ्नी हुन नसकेकी
उनीलाई खोज्न चाहन्छु !

मुग्लिनको त्यो दोभानमा
त्रिशूली र मर्स्याङ्दीको मिलन हुनुजस्तै
तिम्रो र मेरो भेट हुनु

अनि

चार कदम सँगै हिंड्ना साथ
फेरि हाम्रो बिछोड हुनु !

अलिकति खुशी
अलिकति आवेग
अनि
अलिकति पश्चाताप !

हिजोआज
सपना बनेर तिमी हर्दम् मेरो नजिक आइरहन्छौ
म तिम्रो नजिक आइरहन्छु !

यस्तो लाग्छ आजकाल –
के रैछ र जिन्दगी !
म तिमीसँग फेरि गाँसिन चाहन्छु !

*************************

निदरल्यान्ड्स्