बाग्मती प्रदेशको सोम

बाह्र कक्षा पास हुनेबित्तिकै

गण्डकी कि लिलीको नजरमा पर्यो

तडक भडक नगरि बिहे गर्यो

कागजमा छाप लाएर

वकिलकोमा धाएर-

 

कागज बन्यो नाता जुट्यो

भाग्य सायद उनको त्यसै बेला फुट्यो

जब भाषा परीक्षामा चाहिए जति अंक सजिलै जुट्यो

कागज कै नाता, ओढे दुबैले कागजै छाता

के थेग्ला र भए अहंकारको हिमपात  र वर्षा !

पास भो असफल हुने सफल योजना

साथीहरूसँग बिदाइ भोज भो र चल्यो सर्वत्र चर्चा

 

 

जीवनको योजना त के पो छ खै ?

न त उनीहरू भन्दछन्

न त म भविष्यवाणी गर्न नै सक्छु

सक्छु त केवल व्यक्त गर्न जे म देख्दछु र सुन्दछु

परको देशबाट शुरू भएको परदेशसम्मको कथा

 

नर्स लिली बिहानै उठ्छिन्

बिरामी र रोगीहरूको स्याहारमा जुट्छिन्

निर्भर भिसाको सोम लिलीको स्याहार गर्छ

उनलाई तन्दुरूस्त राख्छ

थाहा छ उसलाई

उनको अशक्ततामा धेरै कुरा सशक्त हुनै सक्दैनन् !

 

जीवन सुन्दर  देखिन्थ्यो

जोडी राम्रै जमेकै थियो

समय बित्यो-

पीआर बन्यो तर प्यार बढेन

नागरिक बने तर दुईपाङ्ग्रे रथ चलेन

 

नचल्न पर्ने झोंक सोमलाई चल्यो

स्नेहको खडेरीमा सलाई बल्यो

सम्बन्धको कुन्यूँमा आगो पुत्तायो

सोमले माझी औंलो उठायो

र भन्यो,

‘अब म तिम्रो निर्भरतामा रहन्न

निर्मम सत्ता सहन्न

यो देशको स्वतन्र नागरिक भै सकें।’

 

लिली पनि उही देशकी स्वतन्र नागरिक

के कम-

महिला हकबारे राम्रै थाह छ

उसैमाथि राम्रो काम छ

महँगो घर छ

गाडी छ

लाग्दो हो संसार मेरै पैतालामुनि छ

 

उनले पनि सोमरसको नशामा

फ बाट आउने शब्दले हिंसा गरिन्-

 

परको बस्तिमा बसाई सर्यो सोम

 

आजकल सोम अॅगुर बगानमा काम गर्छ अरे,

लिली बस्ने बाटो हिँड्दा लोभी नजर लगाउँछ अरे

घर व्यवहार गाह्रो भएर निस्किएको निर्भर सोम

समयले बाँधिएर स्वतन्र भएँ भन्छ अरे

घन्टा घन्टामा घडी हेर्दै लिलीलाई साह्रै मिस गर्छ अरे

 

पीडा भुल्न सोमरसको सहारा लिन्छिन् लिली

बाह्य जीवन देखिन्छ झिलमिल

अतीत सम्झेर हुन्छन् नयन टिलपिल

 

जीवन नदीको बीच भो,  न वार न पार

साथी खोज्न कहिले डिस्को त कहिले वार

स्क्रिन र स्किन दुवै छन् रंगीन

तस्वीर राख्न सञ्जालमा छैन खाली कुनै दिन

तर

भएको छ जीवन श्याम-स्वेत चित्र

भेटौं भेटौं भएको छ दुवैलाई भित्र – भित्र

 

वसन्तको बाग जस्तो जीवन त्यो

अहिले न त छ सुगन्ध,  न त रस फूलमा

छ त केवल पीडा र ग्लानि

दुवैलाई आ-आफ्नो अहं र भूलमा

फुलोस् फेरि फूल दुवैको बागमा

 

टिपी सोम राखोस् लिलीको माथमा।