हातको छालै पिल्सँदा पनि
उडाइदिन्थेँ आकाशतिर खबर
ईन्द्र यस साललाई पानी पुग्यो लेखेर
मेरो दुई धर्के चङ्गामा

देखे होलान् सायद उनले
उडी आएको मन स्वर्गतिर
सोधे होलान् खबर उनले
कस्तो छ त्यहाँ भूलोकतिर

मलाई मन उडाएको याद छ
आकाशलाई घर बनाएको याद छ
चरीलाई गिज्याउँदै उडानले
मनैमन रमाएको याद छ

याद छ, केवल याद मात्र छ
बालाई धागो किनिदिन घुर्क्याएको
साथीलाई टी गरिदिन फुर्काएको

याद छ, केवल याद मात्र छ
दिन जो बतासको पर्खाइमा गुज्रन्थे
खुसी जो लट्टाइको घुमाइमा हुर्कन्थे

याद छ, केवल याद मात्र छ
थोरैमा रम्ने उमेर बोकी
चङ्गा छोप्न कुदेको
आकाशलाई जिते मैले भनी
आफ्नै अहंभित्र लुकेको

याद छ, अब केवल, याद मात्र छ ।