विदेशबाट पठाएदिको रेमिटेन्स आयो
नेपाल फर्कनेले ल्याइदिएको
कोसेली पनि आयो
घरमा दशैंकै लागि भनेर
लामकाने खसी पनि आयो
खसीका जिउभरि दल्ने
मगमगाउँदो मसला पनि आयो
आमालाई सारी
बहिनीलाई कुर्थी
बुबालाई सफारी सुट
केटाकेटीलाई नयाँ लुगा र बुट
सबका सब आयो
भाउजूलाई विदेशबाट पठाइदिएको
एप्पलको आइफोन पनि आयो
मलाई जिन्सको ग्रन्च पाइन्ट र
पिँडुला छोपिने डक मार्टिनको
बुट पनि आयो
त्यसैले त दशैं आयो
गाउँमा पिङ आयो
लंगुरबुर्जा जुवाको खाल पनि आयो
पढ्न सहर पसेको रामे आयो
जागीर खान काठमाडौं छिरेको
जागीरे श्यामे पनि आयो
वल्ला घरे लाहुरे आयो
पल्ला घरे लाहुरे पनि आयो
लगाउने खाने सबै आयो
मनाउने रमाउने सब आयो
त्यसैंले त दशैं आयो
बजारमा तामझाम जतिसुकै बढोस्
दशैं आयो भनेर
जसले जति जोडले ढोंलक पिटोस्
तर अझै पनि धेरैको घरमा
दशैं आएकै छैन
कमाउन हिंडेका बा
नआएपछि छोराछोरीलाई
दशैं कसरी आवस् ?
डाँडा पारिका घाम बनिसकेका बुढा बाआमाले
परदेशिएका आफ्ना सन्तानलाई
आशीर्वाद दिन नपाएपछि
उनीहरूलाई दशैं खै कसरी आयो ?
भाउजूले पकाएको पक्कु खाँदै गफिने देवर
अझै घर आएको छैन
मामा माइजूको दैलो टेकिदिने भान्जाभान्जी
अझै घर फर्किएका होइनन्
बिहानै उठेर अष्ठमीमा
टिनमा पानी बसाल्ने भाई
यसपालि पनि घर आउन भ्याउँदैन रे
बालापनका मिल्ने साथीभाइको बिदा पनि
यसपालि फेरि कम्पनीले काट्यो रे
भाउजूलाई पोहोर सालजस्तै फेरि एकटक
बिना बुढो माइती जानू पर्ने भएछ रे
यता तिमीहरू खसीको पक्कु खाँदै गर्दा
उता ऊ माइक्रो वेभमा बासी भात
तताउँदै गरेको हुनसक्छ
यता तिमी चच्चहुईँ गरेर
पिङमा मच्चिँदै गर्दा
उता उ घण्टा हान्न भागदौड
गरिरहेको हुनसक्छ
यता तिमी जुवाको खालमा
मार्रा भनेर च्याँखे थाप्दै गर्दा
उता उ कम्पनीको डिउटीमा
खटिँदै गरेको हुनसक्छ
त्यसैले दशैं सबैलाई आएकै छैन
तिमीहरू थोरैलाई दशैं आउँदै गर्दा
परदेशीएका धेरैलाई दशैं
अझै आएकै छैन
जे होस्, जस्तो होस्
दशैं त देशमै छँदा मात्र
दशैं हुँदो रहेछ
परदेशिएकाहरूको हकमा दशैं त
न घरमा, न त परदेशमा
दशैं त केवल
दुर्दशा मात्रै बनिदिँदोरहेछ ।
क्यानडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।