निरञ्जन भट्टराई

सबेरै,
धर्म गर्ने निहुँमा
एक जोर हात सल्बलाउँछन्
मेरो फूलबारीमा
निमोठ्छन् ती निर्दयी हातले
मेरा सुन्दर, सुगन्धित सयपत्री
फक्रक्क फुलेका गुलाब
झुकेर नमस्कार टक्र्याइरहेका लालुपाते

उसलाई मेरा फूलमा,
फूलको सुन्दरता, सुगन्धमा कुनै चासो छैन
मात्र मतलब छ त धर्मको
कुँदिएको ढुङ्गामा मेरा ती अबोध फूल चढाई
ऊ शङ्खनाद गर्छ

माग्छ अनेकन वरदानहरु
मेरा फक्रँदै गरेका कलिला फूलको शव अर्पेर
दीर्घायु, सफलता र शौर्य माग्दछ
भक्तिभावले प्रशन्न भएर
उसका मनोकामना सुन्न त भगवान् होलान्
तर मेरा ती अबोध फूलको चित्कार सुनिदिने कोही छ?
उसका इच्छा पूरा गर्न त भगवान होलान्
निमोठिएका फूलका बिरुवा हेर्दै चिच्याउँदै दिएका
मेरा सराप पूरा गरिदिने कोही छ?
खोज्दै छु म
यस्ता भगवान जसलाई मेरा फूलको जीवनसँग, सुन्दरता र सुगन्धसँग प्रेम होस् ।