बहिनीः

दुई, चार अनि पाँचै वर्ष भएन र दाइ

बाबा आमा र हाम्रो याद आएन र दाइ

चाडपर्व दशैँ तिहार साह्रै न्यास्रो लाग्ने रैछ

हामीलाई जस्तै थोरै अत्यास लागेन र दाइ ?

 

दाजुः

मनको इच्छा मनमै रह्यो मन त छ नि आउन धेरै

पढाइ खर्च बैंकको ऋण बाँकी छ नि तिर्न थोरै

विदेशमा मलाई पनि अत्यास लाग्छ कति कति

आउँछु बैनी पैसा कमाइ पर्ख केही वर्ष थोरै

 

बहिनीः

पुराना किताब कपडा देख्दा याद आउँछ धेरै

थन्किएको गितार देख्दा घर नै शून्य लाग्छ बरै

घरका भित्ता ढोका सबै खोज्छन् दाइ हजुरलाई

गएदेखि विदेश हजुर चाडबाड फिक्का लाग्छ सारै ।

 

दाजुः

दशैं टीका भाइटीका सँगै बसी लगाऊँला

गीत तिमी गाउनु मैले गितार बजाऊँला

अर्को वर्ष आऊँछु बैनी बाआमालाई सुनाइदिनु

पिङ खेल्दै देउसी खेल्दै दशैं तिहार मनाऊँला ।