बा म लाहुर जान्छु है

आमाको कोख भर्न पाएँ

बाको काख भर्न पाएँ

फुर्क्याउनु भो र फुर्किन पाएँ

हुर्काउनु भो र हुर्किन पाएँ

तर आज बाध्य भएँ

ममता र आदर्शले शिर उँचो पारेर

बा म लाहुर जान्छु है

 

विवशताले खुसी किनेन

देश चिनियो तर उसले चिनेन

परिवारको निराहार, हेर्न सकिन

आफ्नो हुनुको पहिचान, फेर्न सकिन

तर आज किन हो

मेरो माटोमा चोट देखें

मेरो खेतीमा खोट देखें

म छु, मेरै माटो, मेरो छैन रे

म छु, मेरै खेती, मेरो हैन रे

त्यसैले

म मेरै माटोमा ऊर्जा चाहन्छु

म मेरै नामको पुर्जा चाहन्छु

हो अब

आफ्नै आदर्श धितो राखेर

म लाहुर जान्छु है

 

म दुखेको छु, मन दुखेको छ

बाँधेको पटुकीले, डोभ छोपेको छ

डोभ होस् खत नहोस् आँत भर्नु छ

शत्रु होस् शत्रुता नहोस् माथ गर्नुछ

तर आज किन हो

सपनाले निद्रा खोसेको छ

आँखाले सपना रोजेको छ

त्यसैले

दिनसँग हितले गाउनु छ

रातसँग मितेरी लाउनु छ

आफ्नाहरूलाई मनमा राखेर

म लाहुर जान्छु है

 

बा…

चेलीको शरीरलाई चोली छैन

दुखेको शिरलाई गोली छैन

उधारो मागौं साहु दिँदैन

नगदी मागौँ पैसाले चिन्दैन

तर आज किन हो

बेकामे म छु बिक्री हुन्न रे

लिलामी धन निस्फिक्री हुन्न रे

त्यसैले होला

प्रमाणपत्रको, भाउ घटेको छ

स्वाभिमान, रद्दीमा अटेको छ

बरु मलाई

देशले किनेन, त्यसले किन्छ भने

भोगेको अभाव, बरु दिन्छ भने

बजारमा, बेचिन तयार छु

मर्न परे, रेटी दियोस् तयार छु

हो बा

मेरो देशलाई छातीमा राखेर

म लाहुर जान्छु है

 

झुपडीको छानो चुहिएको छ

के हेर्नु भकारी मानो रित्तिएको छ

गरीब भएँ त्यसैले होला

आफ्नाहरू, बिरानो बने, र गए

काखी बजाए, खुच्चिङ भने, र गए

अब त

किनेको नाता मिति सकियो

रुझेका आँखा आँशु रित्तियो

त्यसैले

बोकेको बोझ ऋण तिर्नलाई

टाढिनु छ कतै फेरि फिर्नलाई

 

वरको परको, आफ्नाको अरुको

अनि सबैको

सम्झना मनमुटुमा राखेर

म लाहुर जान्छु है ।

 

एकता बस्ती, काठमाडौँ