१. दसैँ आयो 

विष्णु भण्डारी आचार्य, मोरङ
आयो आयो दसैँ आयो आयो
ठूला साना सबैको मन रमायो
वर्षदिनमा आउने चाड हाम्रो
बडा दसैँ सबैलाई लाग्छ राम्रो
आमाले भन्नुभयो
चाडबाड आयो केले टार्ने र
बाबाले भन्नुभयो
चाड आयो भनी ऋण किन गर्ने र ?
परिवारका सबैजना भेला भएर
हासी खुसी घरमा जे छ त्यही खाएर
मान्यजनहरूबाट आशिष थापेर
शिरमा टीका जमरा कानमा सिउरेर
साथीसाथी मिली पिङ खेल्ने हो
पालैपालो पिङ खेल्दै रमाउने हो
आकासमा चङ्गा पनि उडाउने हो
नयाँ नाना लाएर मामाघर जाने हो
खुसीले खेल्दै-कुद्दै दसैँ मान्ने हो हो
आयो आयो दसैँ आयो आयो
ठूला साना सबैको मन रमायो ।
———————————————————————

२. दसैँको रमझम

राधा आचार्य, बुटवल

दसैँ आयो दसैँ आयो भन्नुहुन्छ बाबा

दसैँ आयो दसैँ आयो भन्नुहुन्छ आमा
खै त मैले लगाउने नयाँ नयाँ जामा?
       आजै मैले रङ्ग भरेँ दुर्गा देवी माता
        हात जोडी नमन गरेँ गाएँ दुर्गा गाथा
        देवी शक्ति कृपालुको गर्छु मैले भक्ति
        शुद्ध सफा मन लिई भर्छु धेरै शक्ति
हजुरबुबा भन्नुहुन्छ गणेश कलश राख
हजुरआमा भन्नुहुन्छ पाला बत्ती बाल
अराउने सिकाउने बाबाआमा जाती
उनकै अर्ती मानी राख्छु नैबेत फूलपाती
          धुपबत्ती आरतीमा देवी पनि रम्दा
         खुसी हुन्छु रमाउँछु शङ्खघण्ट बज्दा
        बिर्सिन्नँ म बाबाआमा दस दिनको दसैँ
         पिङ पनि खेल्छु घरै रमाउँछु यसै ।
——————————————————————-

३.  दसैँ मनाऔँ

गुणनिधि घिमिरे, हालः अमेरिका

गुणनिधि घिमिरे

वर्ष  दिनको चाड हाम्रो बडा दसैँ आयो

नयाँ नयाँ लुगा लायो मिठो मिठो खायो
बाबा आमा घर आँगन सफा गर्नु हुन्छ
हजुरबा   र   हजुरआमा  सघाउनुहुन्छ
दाजुहरू साथीसँग पिङ बनाउन जाने
सबै जना  भेला भई मिठो मिठो खाने
लिङ्गे पिङ रोटे पिङ रमाइलो मेला
खुसी  भई  रमाउने  यो दसैँको बेला
काका  बडा  छिमेकी र  मामा  घर जान्छौँ
टिका लाई आशिष लिई मासुभात खान्छौँ
रमाईलो मौशम आयो हट्यो झरी बादल
नाच्ने   गाउने   रमाउने   बजाउँदै   मादल
हिन्दु हामी महान चाड बडा दसैँ  हाम्रो
हाँसी खेली सबै मिली मनाऔँ है राम्रो ॥
———————————————————————

४. फेरि आयो दसैँ

प्रेम नेउपाने प्रहर, सिक्किम
दसैँ आयो फेरि पनि हर्ष मनाउन
लिपपोत गरी घरहरू सुन्दर बनाउन
लाला बाला हामी थियौं लाउँथ्यौँ नयाँ नाना
आमा बाको बुई चढ़ी जान्थ्यौं घर मामा
आधा रात ढिकी बज्थ्यो चिउरा कुट्थे काका
मन्दिर जाने ताँती हुन्थ्यो गाउँका बुढा पाका
आमा गई बजारबाट सौदा ल्याउनु हुन्छ
दाजु दिदी मिली मिली घाँस काट्नु हुन्छ
हामी भने केटाकेटी खेल्नमा नै रस
टीका लगाई दक्षिणामा पाउँछौ रुपिया दस
मावल जाने रहर हुन्थ्यो आमा बाबा सँगै
मामा घरमा मासु भात  खाई हुन्थ्यौं डम्मै ।
———————————————————————

५. दसैँको रमाइलो

तुलसी पण्डित, चितवन
दसैँ आयो दसैँ आयो मुख्य चाड यो
धनीगरीव सब समान हाम्रै शान जो
कही छैन भेदभाव आफ्नो औकात
चल्नु पर्छ हिड्नु पर्छ  हामी  समाज
चाडपर्व हाम्रो  पहिचान  हाम्रो संस्कृति
घाँटी हेरी चाड मानौ न आयोस विकृति
आफू भन्दा माथि  होइन  तल  हेर्नू  छ
आफ्नो गच्छे अनुसारको दसैँ मान्नु छ
बा आमाको आशीर्वाद माथमा थापेर
हजुर बा र हजुर आमा आउँछन्  रमेर
टीका उहाँले लगाएर आशिष दिनु भो
खुट्टा ढोगी पैसा दिदा भो भो भन्नु भो
आफन्त र इष्टमित्र  घर  आउनु  भो
हजुर बा र हजुरआमा अघि सर्नु भो
आर्शिरवाद दिनु  भयो  दुबै  जनाले
खुशी  भए  सबै  जना  प्रेम  भावले
आमा सँग मामा घर भयो  रमाइलो
मामामाइजु खुशी नै माया दर्शाइयो
कति धेरै पैसा भयो गोजीमा अटेन
यो मन साह्रै हर्षित भयो दसैँ रहेन
————————————————————
{यस स्तम्भमा सहभागी हुन चाहनुहुने स्रष्टाहरूले आफ्ना बालकविता र फोटो nepalibalkabita@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ ।}