झ्याल

हामी चाहन्छौँ
झ्यालहरू खुल्ला राखेर
स्वच्छ हावाका एक-एक झोंका महसुस गर्न

हाम्रा आँखाहरू चाहन्छन्
झ्यालको मदिरालयमा बसेर
एक पेग जूनको प्रकाश पिएर लठ्ठिन
हाम्रा हातहरू चाहन्छन्
आकाशको बगैंचामा फुलेका सिताराका फूलका
थुँगा टिपेर मनमा सजाउन
हामी चाहन्छौँ, झ्यालबाट चराले बजाएको
बासुरीको धुन सुन्न

तर यतिबेला झ्यालबाट तारा खस्दैनन्
फाइटरजेटका आगोको लप्का खस्छन्
अनुशासित भएर सडकमा गुड्ने गाडीहरू छैनन्
सडकमा देखिन थालेका छन्
साइरन बजाउँदै हुइँकेका एम्बुलेन्स

यो समय झ्याल खुल्ला राख्नु भनेको
सबैभन्दा जोखिम उठाउनु हो
प्राणवायुलाई स्वागत गर्ने झ्यालले
कुनै पनि बखत निमन्त्रणा दिन सक्छ गोलीलाई
र शयनकक्षमा निदाएकाहरू
सधैंका लागि निदाउन सक्छन्

यो समय झ्याल सबैभन्दा ठूलो दुश्मन बनेको छ
कुनै पनि बेला घर चिहानघाट बन्ने प्रचुर सम्भावना छ

—–

युद्ध

युद्ध
तबसम्म चलिरहन्छ
जबसम्म बन्दुक र गोलीका गोदाम खाली हुँदैनन्
जबसम्म गोली थाप्ने छातीहरू ढाल बनेर उभिन्छ्न्
जबसम्म नागरिक घरबाट घाट पुग्दैनन्

जुन दिन समाप्त हुन्छ
सैनिकको छाती
रित्तिन्छ्न् गोला बारूद
स्रोत साधन र मानवशक्तिको खडेरी पछि पनि
अन्तिमसम्म जीवित हुन्छन्
युद्धका नाइकेहरू

र त्यतिबेला उनीहरूले
दुई हात अगाडि बढाएर
शान्ति सम्झौता गर्छन्

—–

एउटा घाइतेको अन्तिम इच्छा

चाहिँदैन अब सडक
हिँड्ने खुट्टा गुमिसके
चाहिँदैन अब रोजगारी
हत्केला झरिसके
चाहिँदैन अब सपना
आँखा पड्किसक्यो

मात्र चाहिएको छ
दुई मुठी माटो
मेरो चिहानको लागि
तर माटो यतिबेला मभन्दा बढी घाइते छ !
– – – – – – – – – –

अन्तिम इच्छा

गोलीले मेरा पैतालालाई चपाइसक्यो
मलाई आवश्यक पर्ने छैन अब कुनै रोजगारीको
मेरा हत्केलाहरू धारिलो हतियारले काटिसकियो
मलाई बाँड्नु पर्दैन कुनै सपनाहरू
मेरा आँखाका नानीहरूलाई बारुदले छोपिसक्यो

लम्पसार परेको मेरो देहमा
अझै पनि मुटुको स्पन्दन प्रष्ट सुनिन्छ
यो घाइते मुटुले करुणाको गीत गाउन सक्दैन

अनुरोध छ
ए हतियारधारी साथीहरू
एउटा गोलीको भिख माग्छु
मुटु नै छेडिने गरी चलाइदेऊ

अब मलाई आवश्यक छ
मात्र मेरो आफ्नो माटोको
जसलाई मेरो कफनमा दुई मुठ्ठी भए पनि
चढाइयोस् ।

———–

पाठेघरबाट भ्रूणको वक्तव्य

आमा,
कस्तो कर्कश आवाजहरू सुन्दैछु – बाहिर के हुँदैछ ?
तिमीले मनलाई शान्त बनाउन
बजाएको नरम संगीतको धुनलाई
गोला बारुदका आवाजले पर्खाल लगाउँदैछ
म त पूर्ण रूपमा तिमीमा आश्रित छु
तिम्रो ओठमा मुस्कान फुल्दा
म शुभाषित हुन्छु
अचेल तिम्रो आँखाबाट शित झर्छ
र म ओसिएको छु

बाबा युद्धमा जानुअघि
तिम्रो भुक्क परेको पेट बाहिरबाट
मलाई चुमेर जानुभयो
थाहा छैन आमा
जुन दिन म यो धर्तीमा अवतरण गर्ने छु
त्यतिबेलासम्म बाबाले यो धर्तीबाट उडान भरिसकेको पनि हुनसक्ने छन्

यो कोलाहल
यो त्रास
घामलाई बारुदका बादलले छेकेको
प्रतिकूल मौसममा
मलाई तिम्रो पाठेघरबाट बाहिर आउन डर लागिरहेछ

सायद म जन्मिन पर्ने छ
लासैलासका थुप्रोमा
बन्दुक र गोलीको रासमा

म जन्मिने अस्पताल
घाइते भएर रगताम्य भएको हुन सक्छ
एम्बुलेन्सका खुट्टाहरू अपांग भइसकेको हुन सक्छ

टेलिभिजनमा मृतकको बढ्दो सङ्ख्या देखेर
बाबाको स्मृतिमा बेलाबेला मुर्छा पर्ने गर्छयौ
मैले पाठेघरबाटै लात्ता हानेर होसमा ल्याउने गर्छु

यतिबेला त म
तिमीले फेर्ने सासको सहारामा बाँचिरहेको छु

तर कुनै पनि पल
तिमीले फेर्ने सासमा
गोली मिसिएर आउन सक्छ
अनि म र तिमी
एकै चोटि
यो पृथ्वीको माटोमा मिसिनु पर्ने छ

अन्तिम चाहना यही छ -आमा
हामी माटोमा रोपियौँ भने
त्यहाँबाट शान्ति उमार्नु पर्छ है !

—-

बन्दुक र मान्छे

बन्दुकसँग
– आँखा हुँदैन
– मुटु हुँदैन
– मस्तिष्क हुँदैन
– करुणा हुँदैन

बन्दुक बनाउने मान्छेसँग

– घृणा हुन्छ
– सिद्धान्त हुन्छ
– विचार हुन्छ
– महत्त्वाकांक्षा हुन्छ
– प्रतिशोध हुन्छ

बन्दुकले कहिले आफैँ आक्रमण गर्दैन
जबसम्म बन्दुक बोकाउने मान्छेले निर्देशन गर्दैन

त्यसैले बन्दुक भन्दा खतरनाक
मान्छेको अहंकार हुन्छ ।

—-

रक्तपात

पहिलेपहिले हिमपात हुन्थ्यो
मीनपचासको बिदाका दिनमा
डाँडाकाँडा सेतो हिउँको कमिज लगाएर
स्कुल जाने गर्थ्यो

विद्यार्थीहरू हिउँ मानव बनाएर
हस्तकलाको अभ्यास गर्थे

यसपालिको हिमपातमा
हिउँहरूले रातो रगतको कमिज लगाएर
युद्धमा मारिएका लाससँग
खेलिरहेका छन्
रक्तिम बुख्याँचा बनाउने खेल ।