उसको नून खाएको छु
मुख थुनिदिएको छ चर्को बनेर
स्वाद फेर्न सक्दिनँ कदापि
जुन धरातलबाट माथि उठेँ
त्यो बुझ्नुहुन्न तपाईं
मेरो मौनताभित्रको व्यथा
व्यथाभित्रको कथा
खुट्टा ढोग्नु पर्दाको पीडा
योग्यता र सीपले उभिएको हुँ
प्रतिवाद गर्न नखोजेको होइन
हिजो दुईचार कदम नबढाएको होइन
परिवर्तन गर्न नचाहेको होइन

बन्दुकका गोलीभन्दा कडा बोली
सहन बाध्य बनेको म
जागिरे त्यान्द्रोमा
झुन्डिएको बचरो म
स्वन्तत्र पङ्क्षी बनेर
खुला आकाशमा पखेटा फिँजाएर
उड्न नचाहेको होइन
क्रान्तिका गीत गाउँदै
मादल बजाएर नाच्दै
अन्यायविरूद्ध
बिगुल फुक्न नचाहेको होइन
हिमालबाट बगेको
चिसो पानीले शान्ति गर्दै
म स्वतन्त्र बनेको शङ्खघोष
गर्न नचाहेको होइन
तर
अचेल म अर्कै देखिन्छु
नूनको महत्त्व बुझेको छु
देशानुसार भेष बदलेको छु
तैँ चुप मै चुपको खेलमा भाग लिएको छु
मेरा प्रियजनको साथ पाएको छु
कति मिठामिठा रसयुक्त
ललिपप ल्याएर जादु देखाउँछन्
उसकै पछिपछि दौडाउँछन्
अन्यायमा परेकालाई
जालमा पारेर रमाउन सिकाउँछन्
देशको हालत पढाउँछन्
देश विदेश सयर गराउँछन्
त्यसैले
स्वार्थी बन्न पुगेको छु
चाकडी गर्न थालेको छु
तर पनि भित्री मनले भने
परिवर्तन नचाहेको होइन
म विवश छु !

कीर्तिपुर, काठमाडौं