हरेक वर्ष यसरी नै आउँछ
कतै आशा त कतै निराशा छाउँछ
कोही खुसी छन्
कोही दुःखी पनि छन्
एउटै दशैंले पनि दृष्य
फरक फरक देखाउँछ
खुसी हुनु र खुसी देखिनु
फरक चित्र हो

हरेक वर्ष यस्तै
अनुभव दिलाइरहेछ
घुमुफिरी
फेरि पनि दशैं आइरहेछ

दशैं रहर हो कि बाध्यता ?
पहिचान हो कि प्रतिष्ठा ?
संस्कार हो कि आडम्बर ?
कतै हर्षोल्लास हुन्छ
कतै न खास हुन्छ
न पेट भर्ने गाँस हुन्छ
संसारमा मान्छे
दुइटा कुराले बाँचेको हुन्छ
दोहोरो सास अनि
केही हुन्छ भन्ने आश

समाज यस्तो वस्तु हो
जसले मान्छेलाई आफ्नो तरिकाले बाँच्न दिँदैन
हीनताबोध दिलाउँछ
खर्च गर्न सक्नुलाई प्रतिष्ठा मान्छ
कमजोरलाई सहयोग गर्दैन, गिज्याउँछ
अनि त गरिबीसँग भन्दा समाजसँग जुध्न नसकेकाहरू
त्यो समाजलाई चटक्कै छाडेर हिँड्छन्
डाँडा काटेर

उनीहरूलाई परिवारको पेट पालेर
सम्मानपूर्ण जिन्दगी जिउनु छ
यी चाडपर्वहरू
आफ्नो हैसियतले मनाउँदा
कसैले नगिज्याऊन्
चाडपर्वहरू कसैका पेवा नहुन्
सबैलाई आफ्नो धरातलमा टेकेर
मनाउने वातावरण बनोस्
ऋणको गह्रुँङ्गो भारी बोकेर
दशैं पार लाग्दा
जिन्दगी त्यहीँ भारी बिसाउन नपाउँदै
बिलाउने अवस्था नबनोस्

दशैं कस्तो होस् ?
दशैं यस्तो होस्
सबैले मान्न सक्ने
दशैं सस्तो होस्
दशैं कसैलाई दशा नबनोस्
चाहिने भन्दा बढी नसा नबनोस्
सबैले खुसी साटून्
यो हाम्रो संस्कृति हो
हाम्रो परम्परा हो
सबैलाई सहज होस्
आडम्बर र देखासिकी कमजोर हुँदै जाओस्
दशैं मनाउँदाको ऋण तिर्न नसकेर
गैरीखेत बेच्न नपरोस्
दशैं आयो भन्दा कसैलाई टाउको
समाउनु पर्ने अवस्था नबनोस्
जिम्मेवारी सहजै निर्वाह गर्न सकियोस्
महँगिदै गएको दशैं धान्न नसकेर
धर्मै फेर्नेहरू पनि त छन् !

सुधार गरौं, सम्मान गरौं
यो संस्कृति, यो परम्पराबाट
कोही पनि भाग्नु नपरोस्
दशैं नशा पनि नबनोस्
दशैं दसा पनि नबनोस्
दशैं हर्षोल्लासको पर्व बनोस्
सबको दिलमा उल्लास र उमंग फलोस्
सद्भाव र हार्दीक मौलाइरहोस् ।

सुनकोशी ६, सिन्धुली
हालः पोखरा