
हामी टाढा छौँ
तिम्रा नजिकका
तिम्रा छिमेकी
तिम्रा भएनन्
आफ्ना भएनन्
सल्काइरहे
अशान्तिको आगो
थपिरहे घ्यू
द्वेश र घृणाको
जलिरह्यौ तिमीहरू
टिभीमा देखेका
रकेट जता खसे पनि
पट्कन्छ हाम्रो मुटुमा
हो
हामी बुद्धका देशका
मान्छेको मुटुमा
आखिर
इजरायली र प्यालेस्टाइनी
जो भए पनि
मर्ने त निर्दोष मान्छे नै हो
भत्कने हामी जस्तैका घर हुन्
मुठी कस्दै
मुखले कराउँदै
साम्राज्यवादीलाई
थर्काउँदै
उनीहरूको
आधुनिक राइफलको
जवाफ
गुलेली र घुँयत्रोले दिँदै
आफ्नो पहिचानको
झण्डा फराउँदै
हिँडेका तिमी
र तानाशाह
हिट्लरको क्रुद्ध
यातनाबाट र
युरोपका अविवेकी
छिमेकीहरूबाट
प्रताडित भएर
आफ्नै
हो, आफ्नै मात्र
मुक्त आकाशको
खोजीमा हिँडेका
उनीहरू
ओस्लोमा
हात मिलाएको
तिमीहरूदेखि धेरै टाढा
गौतम बुद्धको देशबाट
हेरिरहेको थिएँ म पनि
ओठमा मुस्कान ल्याउँदै
विश्व शान्तिको आशामा
दिगो शान्तिको लागि
भूमि बाँडेका उनीहरू र
पहिचानको झण्डा बोकेका तिमीहरूमा
पर्यो वैरीको नजर
कहिले इगाल अमिर बनेर आयो
कहिले हमास बनेर आयो
ऊः
अब
हेर बुद्धका आँखामा तिमीहरू दुवैले
फालेर हमासको उग्र जातिवाद
मिल्काएर इगाल अमिरको
धङ्धङी
रकेट हैन फूल वर्षने छ
तिम्रो मध्यपूर्वमा पनि ।
पोखरा ७ मासबार, कास्की



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

