जब
गाउँभरि झोला भिरेर
मगमग बसाउने अत्तरमा
कालो ड्याम बुट बजार्दै
लाहुरबाट दाइ आउनुहुन्थ्यो
तब न बल्ल
हाम्रो घरमा दशैँ आउँथ्यो
जब
घटस्थापनादेखि नवमीसम्म
नयाँ कपडा किनिदिन
बाबासँग गनगन गर्थें
तब न बल्ल
हाम्रो घरमा दशैँ आउँथ्यो
जब
मामाघरमा टीका लगाएर
हातमा खाम राखिदिनी बित्तिकै
कतिबेला लुकेर कतै गएर
खाम हेरौं हेरौं हुन्थ्यो
तब न बल्ल
हाम्रो मामाघरमा दशैँ आउँथ्यो
जब
गाउँभरि नवदुर्गाको भजन हुँदा
दिनभरि पिङमा मच्चिन अनि
रातभरि छमछम भजनमा नाच्न
यी खुट्टा आतुर हुन्थे
तब न बल्ल
हाम्रो गाउँमा दशैँ आउँथ्यो
के तिमीलाई याद छ
त्यो अन्तिम परीक्षा
त्यसपछिको लामो दशैँ तिहार बिदा
बिदाको होमवर्क दुई दिनमै सकेर
कहिले पिङ त कहिले भैलीमा रमाएको?
आज
बिदा नै बिदा छ
तर न रम्नुको कारण प्रष्ट छ
न दशैँ, दशैँ जस्तो छ
न तिहार, तिहार जस्तो छ
छ त केवल
घोर अभाव छ
घरमा पैसाको
मामाघरमा मामाको
गाउँमा पिङ गाड्ने युवाको
मन्दिरमा शुद्ध मनको
अनि मनमा
शान्तिको
छ त केवल
एक्लोपन छ
बुवाआमालाई विदेशिएको सन्तानको
अनि
छोराछोरीलाई आफ्नो देशको
आज न
दशैँ ड्याम बुट बजार्दै गाउँ पस्छ
न तिहार
भैली लिएर घरघर पस्छ
आज
पैसा हुनेसँग समय छैन
समय हुनेसँग पैसा छैन
दुवै हुनेसँग
आफ्नोपन…
खैर
जमरा हुर्किएजस्तै
तिम्रो आत्मविश्वास र भविष्य पनि हुर्किरहोस्
टीकाले निधार ओगटेजस्तै
सफलताले तिम्रो जीवन ओगटोस्
गलामा धागोमा बुनिएको सयपत्री सजिएजस्तै
तिम्रो आयुमा खुशी र स्वास्थ्य सजियोस्
तिमीलाई यही शुभकामना
दशैँको शुभकामना !
हालः त्रि. वि. वन विज्ञान अध्ययन संस्थान, पोखरा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।