बाबियो रुँदैछ कान्छा
शितको आँसु टप्काउँदै
उस्का लहराउँदा बैंशलाई छोएन तिम्रा हत्केलाले
बाटिन पाएन, मेन्छुमाको दुई चुल्ठी जसरी
हुइँकिन पाएन, लिङ्गे पिङको लठ्ठा बनेर कञ्चनजङ्गा र मतानेको धुरी ताक्दै
अँठ्याएन यस्पालि लठ्ठामा बैंशालु जोडी हत्केलाले
बाबियो रुँदैछ कान्छा, तिम्रा हत्केला सम्झिएर
उडेन चङ्गा बादल छक्याउँदै
लागेन कोलामा टेको
ओढेन धुरीले टोपी
फाडिएन घुरेनको सर्पको गुँड
लेग्रे भएको घरमा कमेरो पोतिएन कान्छा
अत्तरमा मगमगाउँदै तिमी गाउँ नछिर्दा
दर्जी साइँलाका कलले डोब्न पाएन नयाँ लुगा
नौरथामा बालिघरे तेसै फर्किए
मंङलधुनमा विरह बज्यो
सहनाईमा रुवाइ पोखियो
अहँ, आएन कान्छा गाउँमा दशैं
जिवाका गालामा कुदेन पत्तिको दादे
बजैका आङमा परेन नयाँ धागोको चित्रा
भुन्टेले खेल्न पाएन टिकटिके गोल
घतानी माइलाका जिब्रामा छोएन रातो स्यान्तारामले
अहँ, आएन कान्छा गाउँमा दशैं

क्यामराका आँखाले देखेन मुडामा बसेका बाबै र आमै
मकैबारीमा उभिएन अक्षता बोकेका ३ पुस्ता
फूलपातीमा लत्को लागेन दुर्गाका फोटामा
तिमीले पर्सेको घोर्ले खसीको खुन चडेन देवीलाई
डालाका भुँडीमा भरिएन लबटे चिउरा
बजेन आमाका कन्तुरमा पलास्टिकको बाजा
परेन बाका कोटमा मग्मगाउने नयाँ नोटका रङरङका गड्डी
पाएन वृद्धभत्ताले जमरा र अबिरमा दलिन
अहँ, आएन कान्छा गाउँमा दशैं

चाउरिएका हत्केलाले छोडेन पुर्पुरो
च्यात्तिएन पत्ति रङ
दलिएन रक्ति आँगनमा
साँध लागेन हतियारमा
डेग चलेन भाती
गोल पोलेन तिघ्रेले
आर्जापिएन कत्ति
मुस्कुराएन थोते मुख
मर्किएन नयाँ जामामा पुतलीको कम्मर
चिमोटिएन जमरा
मुछिएन टीका
परेन आशीर्वादको हत्केला कसैका थाप्लामा
टीकाका दिन
पर… चौतारामा घन्केन मादल यस्पालि
बजेन क्यासेट
लागेन मेला
जुटेन कतै तासको खाल
अहँ, आएन कान्छा गाउँमा दशैं

रातो काठे बाकसमा तिमी निदाएर देश फर्किंदा त्यही रातो बाकसमा झुम्मियो सिङ्गै गाउँ
कमिलाको ताँतीले फटयाङ्ग्रामा झुम्मिएजस्तै
मुर्दाघाट ताकेर ओरालो झर्यो ताँती
कान्छा तिमी मिसिनले बङ्करमा पोलिदा हुँदा
साक्षात् भगवतीनै कहालिएर रुँदा
गाउँको रानो नै अस्ताउँदा
भक्कानियो गाउँ मुर्छित भए आमाहरू
ऐंठनमा परे बुवाहरू
मडारियो आकास
बाकसभित्रै तुहियो
चाड, खुशी, सहारा, आड, युग, सिन्दुर, नागरिक, उदाहरण र अभिभावक
यो पाला कति गाउँमा यसरी नै दशैं आएन
समाजको जीवनले अस्तित्वमा जिउन पाएन
त्यसैले
“पाकेको फल बोटबाटै फ्यात्त भुइमा झर्यो
कसैले छोएन
राष्ट्रिय झन्डा यस्पालि मैलै रह्यो कसैले धोएन”
एकोहोरो शङ्खमा गएको सातो पटक्कै फर्किएन
कान्छा तिमी नहुँदा यो पटक गाउँमा दशैं आएन।

इटहरी -६, सुनसरी
कोशी प्रदेश, नेपाल