
एउटा अन्धकार समय
जहाँ न फुल्छ फूल
न उड्छ भमरा
फूलको सुवास कैद गरेर
भमराको पखेटा काटेर
राज गर्न खोज्छ
एउटा अन्धकार समय
एउटा अन्धकार समय
जहाँ गान्धी बाँचेको हुन्छ
नाङ्गो खुकुरी हातमा बोकेर
जहाँ बुद्ध बाँचेको हुन्छ
अहिंसाको मन्त्र जबर्जस्ती लादेर
आफू ईश्वर बन्न
सूर्यको किरण छोपेर
राज गर्न खोज्छ
एउटा अन्धकार समय
एउटा अन्धकार समय
जहाँ आकाशहरू स्वतन्त्रता बादल ओढी
गुरुत्वको परतन्त्रभित्र बाँचेको हुन्छ
जहाँ धरतीहरू राष्ट्रवादको खोक्रो हरियालीभित्र
परराष्ट्रवादको आडमा बाँचेको हुन्छ
नीति नियम ऐन कानुनभन्दा माथि
व्यक्तिको शक्ति हावी गराई
राज गर्न खोज्छ
एउटा अन्धकार समय
एउटा अन्धकार समय
जहाँ मार्क्स र लेनिन बाँचेको हुन्छ
नीति र सिद्धान्तभित्र गुम्सेर
अनि मजदुर मरेको हुन्छ
मालिक हत्केलामा पिल्सेर
जहाँ कंश शान्तिको बाँसुरीको आवाज रोक्न
पठाउँछ दिउँसै कागासुर बकासुर
जहाँ गणतन्त्रको स्तम्भ भत्काउन हिरण्य कसिपु
होलिकाको प्रयोग गरिरहन्छ
आफ्नो सत्ताको मदमा मस्त रावण
लोकतन्त्रको अपहरण गरिरहन्छ
तर नृर्सिङ्ग कृष्ण राम चुपचाप लडिरहन्छ्न्
मैनको उज्यालो बोकी मास्न
एउटा अन्धकार समय ।
सूर्योदय नगरपालिका, इलाम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

