ए, पागल र मुर्खहरू
बालुवाटारले ललिपप देखायो
अनि तिमी मख्ख पर्यौ ?

हो तिमीले देशलाई
आफ्नो अस्तित्व र स्वाभिमान सम्झियौ
अनि भुलभुलैयामा पर्यौ

किनकि उसलाई
विमानस्थलबाट सुन ओसार्न
भ्याइनभ्याइ छ

यतिबेला उसले
देशको ढाडमा टेकेर
नागरिकको टाउकाेमा प्रहार गर्नु छ

प्रभुको आसनमुनि बसेर
प्रभुकै विरुद्धमा सुरुङ युद्धको घोषणा गर्न
अब पहाडगंज जानै पर्दैन

प्रभुको आशीर्वादले बाँचेको उसको सत्ता
हाम्रो सारथिको फुटेको ब्याटले
किन पो डगमगाउँथ्यो !

राष्ट्रिय गौरव बढाउने खेलाडीलाई
एउटा ब्याट दिन असक्षम राज्य सत्ताले
राष्ट्र र नागरिकलाई
केही दिन्छ भन्नु
केवल हाम्रो दिवास्वप्न हो

राष्ट्रका गहना खेलाडी
किन छोडिरहेछन् देश
गोबर भरिएको दिमाग बाकेर
बाँचिरहेको सिंहदरबारले
खोजी गर्यो कि गरेन ?

हुन त
प्रभुको आशीर्वाद रहुन्जेल
त्यो निर्दयी सिंहदरबार
निदाउने ट्याब्लेट खाएर
युगौँसम्म स्वार्थको साइरन बजाएर
ढुक्क निदाइदिन सक्छ

यतिबेला भाँचिएको त्यो ब्याटले
मलाई सोधिरहेको छ
तेरो देशको त्यो सरकार
बाँचिरहेको छ कि
कोमामा पुगिसक्यो ?

पोर्चुगल