प्यारी जून
तिमीलाई थाहा छ, आज तिमी कति राम्री देखिन्छ्यौ?
हिजो भन्दा अलिक बेसी, तर उनीभन्दा अलिक कम
बादलले तिमीलाई गिज्याए झैँ, जिस्काए झैँ
मलाई उनको यादले सताउँछ, सधैँ जिस्काउँछ

उनको तस्बिर जुनेली ज्योतिमा हेर्दा
अडिन्छ सास उनले मुस्कान छर्दा
उनको बोलीमा बतासले संगीत भर्दा
जुनकीरी उडिन्, उनी मनमा पौडिइन्

तिमी शान्त शितल, उनी निश्छल शालिन
तिमी विम्ब उनी तिम्रो प्रतिविम्ब
तिमी बेगशील तर भावहीन
उनी मेरो भाव प्रेरक, प्रवीण

तिमी हुँदा उनी छैनन् कस्तो विडम्बना
उनी समीप हुँदा हराउने छ मेरा वेदना
म छु, क्षितिजले जोडेको आकाश छ, अनि जून
उनी नहुनुमा पनि हुनुको आभास हुन्छ, प्रिय जून

प्रतिरूप तिमी मायाको, नहुँदा म के रहुँला?
तिमीले कहिल्यै बुझ्दैनौ मेरा अनुभूति
उनी बुझ्छिन्, सुन्छिन् तर मौन रहन्छिन्

मौनता रोजेकी, नजरले सयौं बात भन्न जानेकी
तिमी जस्तै हुन् आफ्नो आकाशमा उदाउन जानेकी
तिम्रो बादल, कालो कपाल र उनको गाजल

सिरिरी बतास बग्दा, उनले सास फेरेझैँ लाग्छ
उनले मलाई सम्झेझैँ लाग्छ
म आँखा खोलूँ, तिमीलाई देख्छु
बन्द गर्दा उनलाई देखेझैँ लाग्छ

नियाल्दै छु प्रतिविम्बित तिम्रो बसेर बगरमा
उदाई हेर्नु मध्यरात, उनको घायल सहरमा
उनको गाजलु करौँतीले रेट्नेछ
बादलले तिम्रो बाटो पक्कै छेक्नेछ ।