वर्षौदेखि मनको
अध्याँरो गुफामा बन्दी
सपनाहरू बिस्तारै
सल्बलाउन थालेका छन्
अक्षर अक्षर बनेर
उड्न थालेका छन्
मेरो वरिपरि
शब्द बनेर पछ्याइरहेछन् मलाई
घरिघरि घोचिदिन्छन्
सियोभन्दा तिखा कलमले
कपीका सेता पाना बोकेर
लखेटिरहन्छन् मलाई
पहिला ‘म’ पहिला ‘म’को
रटानले रेट्दै मलाई
बेवारिसे हुनुको पीडाले आहत
तेर्साउँछन् प्रश्नका वाण
पूरा नगर्ने भए किन थुनेर राखेको ?
साकार हुने अधिकार किन खोसेको ?
न्यानो घामको आशा देखाएर तुषारापात किन ?
भन्दै निद्रा बिथोल्छन्, सुत्नै दिँदैनन्
निरुत्तर म जवाफविहीन
नजर झुकाएर अपराधबोधमा
उभिइरहन्छु शिर निहुराएर
खोलिदे हाम्रो जञ्जिर
अरुलाई सुम्पिदे
लिलाममै राखिदे, बेचिदे
विदेशै पठाइदे भन्दै
मविरुद्ध नारा जुलुस गर्ने तयारीमा छन्
सपनाहरू मेरो कैदमा छन्
कि म अनगिन्ती
अधुरा सपनाहरूको कैदमा
सपनाभित्र म, मभित्र सपना
सपना त मेरै थिए
यो विद्रोह सपनाहरूको हो ?
कि मभित्रको सुशुप्त ‘म’को
मूक, अवाक्
सोचमग्न छु म
कुनै दिन ‘म’ अनि सपनाहरू मिलेर
घाँटी रेटेर हत्या गर्नेछन्
झुन्ड्याउनेछन् कुनै रुखमा
वा फ्याँकिदिनेछन् नदीमा
यो विद्रोह सपनाहरूको हुनेछ वा
मभित्रको ‘म’को
कस्तो हुन्छ होला आफैंसँगको विद्रोह ?
भनिदेऊ न, ए मेरा थुनिएका सपनाहरू !