स्वदेश र सङ्कल्प

 

वासुदेव पाण्डेय

 

छन्दः पञ्चचामर

गणः ज र ज र ज गुरु

विश्रामः आठ अक्षरमा

 

छ  विश्व एक गाउँझैँ नवीन रूप पाउँछ

स्वदेश अग्रपङ्क्तिमा सदैव पर्न आउँछ।

स्वतन्त्रता स्वदेशको बसाइ नै विशेष हो

म  देश  एक  अंशझैँ समग्र रूप देश हो।।

 

हिमाल  शैत्यमा धनी,पहाडका जडीबुटी

अथाह  शक्ति रत्नको प्रयोगमा सबै जुटी।

खटी  डटी  इमानले  भएर  आत्म-निर्भर

सिँगार्नु  पर्छ  कर्मले स्वदेश नामको घर।।

 

निनाद शब्द भावको अपूर्व शिल्पयोजना

समेट्न सिन्धु बिन्दुमा उनूँ अनन्त भावना।

हिमालका  पहाडका  मधेसका बुझी मन

हरेक  चित्तको  कुरा  उनूँ  सुनी  चुनीकन।।

 

छ मांसपिण्ड शब्दको अडिन्छ सिर्जना नङ

अनेक  चित्तभित्र  छन् सिँगार्न भावका रङ।

सिकारु चित्रकारझैँ म अल्झिई कता कता

कुची  लिएर  शब्दको गरेँ कि पोत्न धृष्टता ?

 

पवित्र  भूमि  वीरको हिमाल वज्र वक्ष छ

अशेष रत्न गर्भमा निकाल्न राख्न दक्ष छ।

अनन्त  सृष्टि  हो वधू  वसुन्धरा  स्वयं-वर

स्वदेशनिम्ति हम्किने म बन्छु पञ्च-चामर।।

बैतडी

 

प्रियसी

कपिल किशोर घिमिरे

 

छन्द:शिखरिणी

गण:य  म न स भ लघु गुरु

विश्राम : बाह्र अक्षरमा

 

लजाएका आँखा अलिकति झुकेका नजर ती

अहा ! क्या राम्रा हुन् मधुरस घुलेका अलख ती

सुहाएका   राम्रा   छमछम  बजेका   पयरमा

गए सारा पीडा सकल मनका दूर नभमा।

 

दिएको मायाले जल अनि चिया खान मन भो

पुकारेँ हे प्यारी अलिकति यता ल्याउ तन त्यो

नियाले मैले ती नयनमा कतै  देखिन छल

हराए है आफै हरपल डुबे मस्त छु म त

 

सजाएका राम्रा नयन अति बान्की कति कति

लगाएका राता छमछम चुरा छन् अलिकति

पढेकी लेखेकी सुपठित र ज्ञानी अनि सुखी

भनेको जस्तो भो अति छु सुखमा छैन म दुखी।

 

मिठो बोलीचाली छ अति हसिलो शान्तपनले

कतै केही भन्ने मन पनि भए शान्त मनले

भनेकी हुन्छिन् ती अलिकति लजाई वर सरी

कहाँ को को होला अति असल ज्ञानी वरिपरि।

कैलाली

 

 

आँसुको मुस्लो

खेमराज शर्मा

 

छन्द:झ्याउरे

विश्राम:पाँच  र दस अक्षरमा

 

देशका आशा दिलका खासा आँखाका पानीको

बज्रन पुग्यो अशुभ खबर पश्चिमतिरको

कलिला फूल अस्ताउन पुग्दा पराई माटोमा

देशकै आँसु बगेको देख्छु स्वदेशी पाटोमा ।

 

धैर्यको बाँध भत्कनुहुन्न सहनै पर्ने छ

प्रत्येक दिल आशाको हावा बहनै पर्ने छ

सृष्टिको फूल च्यातेर किन बेकाम फालिन्छ?

श्रमको रूख छरेर विष किन पो ढालिन्छ?

 

पसिना माथि असिना किन दुष्टले बर्षायो ?

श्रमको रूख ढालेर जीवन बर्बाद गरायो

देशमा लुट्छ विदेश भुट्छ मुखमा हाल्नु के ?

फाटेको छानो भत्केको गारो कसरी टाल्नु हे !

 

दुष्ट हो अब धर्तीका फूल च्यातेर नफाल

संसार जल्ने जीवन ढल्ने गोला ती नफाल

बाँच्न दे अब नाँच्न दे अब गरेर  खान दे

धर्तीको जुनै भागमा पनि खुसीले जान दे ।

रोल्पा