
म शक्तिशाली
आफैँ ब्रह्माण्ड
हाँक्न सक्छु त
कहाँ कायर छु र ?
जे छ सबै मै हुँ
अरूका सिद्धान्त
मैले किन सुन्ने किन मान्ने ?
मेरा सिद्धान्तमा
अरू हिँड्नुपर्छ ।
जङ्गलको रक्षा गर्ने
म सिंह हुँ
मानेनौ म झम्टन्छु
गर्छु सहकार्यको
नाटक मञ्चन
नयाँ सिर्जना गर्ने किन ?
परिवर्तन गर्ने किन ?
सिर्जनालाई थुन्नै पर्छ
बन्द कोठाभित्र
म पो स्वतन्त्र छु
तिमीहरू कहाँ छौ र ?
यी हिजोदेखि नै थुनिएका
आज खोल्न दुस्साहस गर्ने
को हौ तिमीहरू ?
हिजो जुन पथमा हिँडे
त्यही नै ठिक छ
मेरो मार्ग अवरोध गर्ने
परिवर्तन किन चाहियो ?
वर्षौंदेखि चलेकै छ
मैले के अन्याय गरेँ र
सबैलाई बराबर त हो घात
मानवतावादी बनेको खेल खेल्न
मृगलाई जालमा पार्ने
पोख्त सिकारी हुँ म
अरूलाई पो हो
नियम र कानुन
मैले किन मान्ने ?
म जे गर्छु सही गर्छु
मलाई तिमीहरूले
मान्नैपर्छ हरपल
मानेनौ तोड्न लगाउँछु
पर्दा पछाडिबाट
लडाउन मजा लाग्छ
पछि उठाउन जाँदा
पाइहाल्छु वाह! वाह !
म पदमा छु
म हाकिम हुँ ।
~~~
कीर्तिपुर, काठमाडौं



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

