(१)
बलात्कृत सपनाको लाज पचाएर
आजकल म हाँस्न सिकेको छु
तिमी बलात्कृत हुँदा पनि
हाँस्न सक्छु र म ?

(२)
मायाको संवेग
अनुभूति फरक फरक
एउटा छुट्टै दर्शन
बुझेको छु मैले ।

(३)
जीवन बाँच्न नजाने पनि
तान्न नबिर्स
मरुभूमिमै पनि एउटा सपना
छान्न नबिर्स ।

(४)
मनको सेपिलो बगरमा फुल्छन्
बेमौसमी फूलहरू
राता, हरिया, नीला…
कुन फूल रोज्छौ तिमी !

(५)
नसोधेरै मेरो मनको वर्जित अन्तर्क्षेत्रमा प्रवेश गर्यौ
ए, कुन विशेषाधिकार छ तिमीसँग ?
कर्फ्यु लागेको छ यो शहरमा
खबरदार ! अगाडि नबढ ।

(६)
एकछिन है
म त हतारोमा छु
सपना बुन्ने चटारोमा छु
फेरि आउँदै गर न ल !

(७)
अनन्ततर्फ लक्षित मेरा आँखाहरू
दुर्घटनामा नपरुन् फेरि अर्का आँखासँग
सपना तरल बन्न सक्छ
मुस्कानमा ठेस लाग्न सक्छ ।

(८)
जीवन के हो ?
बाँच्नै जानिन खै
अलिकति पिएँ
मलाई माफ गर ल !

(९)
जोख्न नजानेर नै माया
ठगिएको छु म
हाता लाग्यो शून्यमा
सधैं सधैं ।

००००
बर्दघाट- १०, नवलपरासी
हाल: ओस्लो, नर्वे