
छैन केही गुमाएको
तर अप्राप्तिको पीडा बल्झिरहन्छ
खुशी हराएझैं लाग्छ
छाती किन बिझाइरहन्छ
फुलेको फूल हेरेर
आशा संगाल्नु पर्ने
झरेर जान्छ भोलि भनेर
मन चिमोटिरहन्छ
खै कहाँबाट कसरी आउँछ
पीरको पहाडले छाति थिची रहेझैं लाग्छ
छङ्छङ् झरनामा दुनियाँ मोहित हुन्छ
मेरो मन,
चट्टानमा ठोकिएर
चोइटीएको पानिको
चिच्याहट मात्र सुन्छ
तालको सौन्दर्यले तान्छ सबैलाई
पिँजडा भित्रको सुँगाजस्तै
स्वतन्त्रता खोसिएको
पानीको पीडा
बग्नुको आनन्द बिर्सिएर
झरेका हिमालको आँशुझैं लाग्छ
मन किन मन लाग्दो छैन आजकल
ढुकढुक गर्ने तातो छातिभित्र
मन चिसो भै रहन्छ
नशा नशामा बग्ने लालीगुराँसको रङले
हिउँझैं उच्छवास फालिरहन्छ
मनको काँडा मनमै फल्छ
मनैभित्र बिझाउँछ
टुक्रा‑टुक्रा हुन्छ हिम्मत
चित्त साह्रै चहर्याउँछ
मनको रोग बुझिदेऊ
तिम्रो माया ओखती हो
दुःख बाँडौं, खुशी बढ्छ
विश्वास गरौँ
आशा फल्छ
मन कमजोर भयो भने
बन्द ढोका प्रगतिको
थोरै मन खोलेकी छु
पीरको पहाड फुटाउन
बटुलेर विश्वास आज
केही हिम्मत जुटाउन
दुखेको यो मनको मलम
आइदेऊ लगाउन !
भक्तपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

