अतितको चौतारोमा आड लगाएर

बटुवाहरूको नानाथरि सुनेर नि

किमार्थ डगमगाएको छैन मन !

 

प्रारब्धको आँधीबेरीले

भाँच्न खोजेकै हुन् जिजीविषा

पटक–पटक !

 

आस्थाको बर्को ओढेर

चढाएकै हुँ देवतालाई

विश्वासको जल

बसेको छैन बाटो ढुकेर

लुकेको छैन गौँडा कुरेर

निमोठ्न अरुलाई

जस्तो छ त्यस्तै

निरपेक्ष हेरिरहेछु

परिवेश र पात्रहरू !

 

बोलेरै हुने भए

सुन्नेले बुझ्ने भए

खै ! कहाँ सुनियो त

जीवनका सुस्केराहरू !

सनककै भरमा हावा नचले

पानी नबग्ने भैदिए

सबै तिमीझैँ बेइमान बने

टेकिन्थ्यो होला र तिम्रै खुट्टा भुइँमा ?

बजार्न पाउँथ्यौ र दम्भको बुट ?!

 

चाहेझैँ भएको भए तिमीले

सुकिसक्थ्यो उहिल्यै

जीवनको गति

बसिसक्थ्यो रुद्रघण्टी

द्रवित स्वरमा

कसले गाउँथ्यो र यात्राको गीत ?!

 

तिमीले लात मार्दैमा

कहाँ कोल्टे फेर्छ र समयले ?

तिमीले अँगालो हाल्दैमा

कहाँ न्याय बिर्सन्छ र समयले ?

चिताउँदैमा तिमीले हुने भए

कहाँ पढिरहेका हुन्थ्यौ र

यो कविता यतिबेला ?!!

–––––

 

महाङ्काल गाँउपालिका – ०४, कालेश्वर, खानिडाँडा, ललितपुर, नेपाल

हालः न्युजिल्याण्ड