सडक सिधा हुनुपर्छ
कुनै-कुनै घुमाउरो पनि हुनसक्छ
कदम-कदमको विचमा रनभुल्ल
अन्यौल र अनिश्चयको दोधारमा
विवशता दैनिकी बनिदिन्छ
सडक धनीको हो
कहिलेकाहीँ गरिबको पनि हो
अभिव्यक्तिमा शंकुचन विभेद नभए पनि
सोच र व्यवहारको भिडन्तमा
सामाजिक बन्धनको पहाड बनिदिन्छ
सडक शान्त हुनुपर्छ
कतै-कतै अशान्त पनि हुन्छ
गन्तव्यको अस्पष्टतामा पनि
यात्री र यात्राको विवादमा
कल्पनाको महल भुलिदिन सक्छ
सडक सभ्यताको परिचय हुनुपर्छ
कदमकदाचित असभ्यको बास हुनसक्छ
अस्तित्वको होडबाजीमा
माटो र बाटोको घम्साघम्सीमा
सम्बन्ध औपचारिक भइदिन सक्छ
सडकले सवैलाई माया दिनुपर्छ
कोही-कोहीका लागि निष्ठुरी पनि हुनसक्छ
मौन स्वीकृतिको बहानामा
प्रेम र प्रियसीको द्वन्द्वमा
नमेटिने सिमाना कोरिन सक्छ
सडक बलियो हुनुपर्छ
कहीँ-कहीँ कमजोर पनि हुनसक्छ
प्रतिरोधको संशयमा
मान्छे र प्रकृतिको गठ्जोड
भीमकाय सिंहासन भइदिन सक्छ
सडकले न्याय दिनुपर्छ
कसै-कसैलाई अन्याय पनि हुनसक्छ
नैतिकताको खडेरीमा
सत्य र असत्यको जुधाईमा
ढोङ्गीहरूको मनमौजी बनिदिन्छ
त्यसैले सडक
सडकमै सीमित रहनुपर्छ
भावनामा वहकिनु हुँदैन
मन परे पनि, नपरे पनि
यात्रीहरूलाई यात्रा गराई रहनुपर्छ
र, मान्छेको हुलमा लोप हुने कला सिक्नुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।