अब त हल्दार काकाले ओछ्याए होलान् दाउ
बैदार जेठाका मतानमा
गाडे होलान् पिङ डाँडामा
छ लिङ्गा बाँस

बने होलान् उज्याला
गेरू र कमेराले छ्यापेका गाउँ
जम्मा भए होलान् मौलोमा
थुन्से र डोका लिएर
धार्नीका भाग लिनेहरू
पीपल डाँडामा गएर
लाए होलान् नौरथाको धुन
केराबारे काकाले

चढायो होला फौदेले
गढी डाँडामा गएर
एक तोप भरुवाको सलामी
दिवंगत परदेशीको आत्मालाई सम्झिँदै
** ** **

आमा यसपालि हिउँदामा पनि
तुहिएरै जाने भो न्यानो लाउने सपना
म मरुभूमिमा जिन्दगी ओछ्याएर
ब्याजको सपनाले घोक्रो अँठ्याएर ऐठन लाउँदा
सम्झिन्छु तिम्रो हातको टीका र बाको बुढी औँला

मेरा पीडाहरू बालुवामा झरी जल्दै गर्दा
सायद मेरी स्वास्नीले –
देख्दी हो घरमा
आधुनिक ओछ्यानमा सुतेर यतिबेला
हिरा र डाइमण्डका हारको सपना
** ** **

यो साल चुक्ता गर्नुपर्ने
धनश्वरे मुखियाको सावाँब्याज
यतिबेला धमिलो धिप्रीमा
तन्काउँदै होलान् काजीले आँखीभौँ
मेरा बाको दायाँबायाँ औँठाछाप
घुर्मैलो ल्याप्चेको तमसुखमा

सायद यतिबेला मेरा बा
घोरिएका होलान् अभागी खप्परमा लिलाम सोचेर
माफ गर बा !
कसरी गरूँ म आफ्नै जिन्दगीको लिलाम ?
** ** **

यतिबेला दसैँ सम्झिँदा –
गाडियो होला पल्टने जेठाका घरमा
ठूलो डिसहोमको छाता

हेर्दिहुन् बोजूले
हिन्दी सिनेमाका लाज
हेर्दा हुन् गाउँका केटाकेटी टुक्रुक्क बसेर
साइँला दमाईँले घुमाउँदै गरेको कल
नाकमा सिँगानका मुठा
करङ टल्किने कुखुरे छाती
तिघ्रामा मुतका लेघ्रा
तुरी नछोप्ने फाटेको दौराको फेर
मुस्कानमा नयाँ लुगाको उज्यालो भरेर
** ** **

डोहोर्याउँदै होला डबके साइँलाले
तल मूलबाटोमा थारो भैँसी
धपाउँदै होलान् फेदापे काकाले भागारी सुँगुर
खुत्याउँदै होला पन्नित कान्छाले
हातका बाहुला सुर्केर खसीका भुत्ला

बजाउँदै होला ठूलो स्पिकरमा
माथि सिस्नेरी कान्छाले
खगेन्द्र यक्सोको लोकगीत –
” गाउँघरै छोडी परदेशी भइयो
छैन केही खबर…”
उफ् सपनाभन्दा चर्को दसैं चित्र !

सुरू भयो होला थालडाँडामा धान नाच
पाहुना आएका हाङपाङे तरुनीहरूसँग

यसपालि त लायो होला बौद्धेले ढाकरमा
ठाडा खुट्टा पारेर पैँतिस धार्नीको सुँगुर
जानुथ्यो पहिलो ससुराली
फुक्न थाल्यो होला जसेले
बाँसुरीमा विरहको धुन
चेलीबेटीको यादमा
प…र रानी चौतारामा बसेर
” सक्रान्तिबजार मान्छेको हजार कलधारा हिटीमा
टाढाको चेली भेट कहिले हुने बात मारौँ चिठीमा ”
** ** **

खुशीका पिरामिड बोकेर
गाउँ हिन्यो होला सहर पनि
आमा ! माफ गर है यो साल
बिदै मिलेन पराई देशमा
सुनाइदिनू माथि डाँडामा गएर एकसाथ
पाथीभरा माता र बुद्धलाई –
अर्को साल –
आशीर्वाद र न्यायका सपना लिएर आउनेछ छोरो
र उडाउने छ तल सहिद गाउँका मृत आत्माका नाउँमा
शान्तिको कामना गर्दै
एकजोर सेता परेवा !!
** ** **

आठराई -२ तेह्रथुम