चारु

 

१.

चाडपर्व आउन थाले रुपैयाँको जोह गर्नुछ

परिवारमा मैले पनि यसपालि खुसी भर्नुछ।

 

चिन्ता मात्र कति लिने महोदय!जीवनमा सधैँ

चाडपर्वमा रमाइ आपसमा उज्यालो छर्नुछ।

 

विचरण गर्दै जन्मभूमिका लेकबेँसीहरुमा

चढी उकाली रमाइ केही दिन तराई झर्नुछ।

 

नाचगान रमाइलो जन्मभूमितिर चाडपर्वमा

म पनि नाचेर रमाउन अघिअघि नै सर्नुछ।

 

लिनुपर्ने छैन चिन्ता पक्कै जीवनमा सधैंभरि

साथीभाइसँग रमाउँछु एकदिन त मर्नुछ।

 

तेजप्रसाद खनाल

लमही, दाङ

 

 

 

२.

पिछडिएका बस्ती  बस्तीबाट जाग्नु पर्छ अब

देशको  बिकाश  गर्न कसिएर लाग्नु पर्छ अब

 

युवा शक्ति  विदेशिए  पछि यो देश विकाशमा

आफ्नो आफैँ ले रगत पसिना माग्नु  पर्छ अब

 

अपराध देशद्रोही भ्रष्टाचारको पोल खुलेपछि

सारा  नेपालीले  लखेट्दा  देशै  त्याग्नु  पर्छ अब

 

सीमा मिच्यो छिमेकीले यो देशको रक्षा गर्नलाई

मिचेका सीमा भत्काउन पर्खाल नाग्नु पर्छ अब

 

यस्तो कानुन व्यवस्था ल्याउनु पर्छ  अब देशमा

भ्रष्टाचारी बलात्कारी कानुनबाट भाग्नु पर्छ अब

 

तारा घिमिरे स्वेच्छा

सङ्खुवासभा

 

 

३.

भुलाएर पीडा छ बानी मजाको

तिमी प्रेम प्याली जवानी मजाको

 

बनाएर  साथी   बसेछौं मनैमा

सुनाएर व्यङ्ग्य कुराकानी मजाको

 

रमाएर सधैँ बसौँला साथमा

मीठा बात तिम्रा लगानी मजाको

 

नराम्रो रूपले दुःख हुन्न साथी

सफा हुन्छ मन परानी मजाको

 

तिमी भित्र आहा ! छ प्रेम अनेकौं

नदी झैं हृदय यी सानी मजाको !

 

शारदा गौतम आचार्य

ललितपुर

 

 

४.

चारु राग विराग

 

बिलायक समाएर प्रारब्ध फुटायौ

छँदा छँदैको न्यानो साथ आँफै छुटायौ।

 

हरपल खुसीले रमाउँने मनमा

त्यही सारा खुसी सँधाका लागि लुटायौ।

 

नारावादीको सम्मान गरी सहजमा

दुई पक्ष बनाइ सडकमा जुटायौ।

 

जैलै गलत धारणा राखेर बीचमा

गाउँ सहरमा सबैलाइ नै उठायौ।

 

निषेधात्मक घिनारो जमाइ जनमा

फैल्याइ शत्रु एक अर्कालाई कुटायौ।

 

अच्युत घिमिरे

भुटान

 

 

५.

विराग

 

अँगालो बिझायो र गालो बसायो

नआऊ तिमी जिन्दगी यो डसायो

 

तिमी वासनालुब्ध व्याधा रहेछौ

त्यसैले परब्रम्ह अन्तै खसायो

 

म सिर्जनाभक्तिकी साधना हूँ

तिमीले तपस्या कुनामा पसायौ

 

लजाऊ ल जाऊ स्वयम्का कुराले

तिमीले घुँडा यी वृथामा धसायौ

 

छत्रपति दाहाल

 

 

६.

जन्मियो चारु अर्घाखाँचीको मालारानीबाट

लौ पाठ सिकौं  गजलको  उला र सानीबाट

 

ठेकीमा  हाल्दै सबै स्वादिलो स्वाद चारुको

मथ्दै  बहर  निकाल्दै   जानू यो  मदानीबाट

 

भ्रम  न  फैलाऊ    बेबहरलाई   गजल  भनी

रसिला शब्द निकाल्नु अर्कानको खानीबाट

 

पन्ध्र सय वर्ष पछाडि  परेको इतिहास यहाँ

मान्य हुने  छैन  साहित्यमा परेको हानीबाट

 

आफ्ना रचनाको सैद्धान्तिक दीप बाल्दाखेरि

असिनाको वर्षात् अब बचाउनु पर्छ पानीबाट।।

 

डिल्ली राज घिमिरे

भूमिकास्थान ९, अर्घाखाँची

 

 

७.

 

ॐ हट्दै छ गाई काटिदै छ सत्य मासिदै छ यहाँ

दलालीको दलदल भित्र देश भासिदैछ यहाँ।

 

सुनमा पित्तल,चामलमा प्लास्टिक मिसिए पछि

पवित्र फूलमा झिँगा बसेर फोहोर टाँसिदै छ यहाँ।

 

ऋण भित्र्याउने युवा विदेशिने सन्तान उतै जन्माए’सि,

देश रित्याई धर्म सिद्याउने साइनो गाँसिदैछ यहाँ।

 

मिलेको समाजमा हिँसा छरेर रगत उमारेपछि

हरियो धर्ती खैरो बनाई राक्षसी हाँसो हाँसिदै छ यहाँ।

 

ताराबाबु

खाँदबारी