यदि फूलहरूले कविता पढ्न सक्ने भए
कविताको मर्म महसुस गर्न सक्ने भए
भाव बुझेर प्रतिकार गर्न सक्ने भए
लखेटी लखेटी कुट्न सक्ने भए
स्वघोषित कविहरूलाई धेरै परसम्म खेद्ने थिए फूलहरूले
कसैले मन पराउलान् भनेर
या भमराहरूलाई खुशी पार्न
प्रेमीहरूलाई प्रेम वा वासनाको याचनामा सहायता गर्न
वा
आयु सकेर ढलेका लासहरूमा सम्मान व्यक्त गर्न
अथवा
कसैको गलामा पहिरिन
तथा
भगवानको पगरी पाएर गुथ्थ परेर बसेको पत्थरमा बज्रिन
फूलहरू पटक्कै फूलेका हैनन्
न त हावालाई शुद्ध बनाउने उद्देश्य छ
न त बुद्धुलाई बुद्ध बनाउने लक्ष्य छ
न त प्रेमी प्रेमिकाको उत्तेजनाको बीचमा च्यापिनु छ
न त मजाक मजाकमा कविहरूको कविता र गीतमा घुस्रनु छ
फूललाई केवल फूल्नु छ
फूल्ने धर्म जो निभाउनु छ
व्यर्थै फोकटमा आफ्नो प्राण चुँडिएर
घाटमा फालिनु र पत्थरमा चढाइनुसँग
आफ्नो भाग्यको स्तर नाप्दैनन् फूलहरूले
बरु प्राण हरिँदाको असह्य पीडा महसुस गर्छन् फूलहरूले
आफ्नो जीवन लुछिएर पत्थरमा ठोक्किँदा
फूलले कसरी मुस्कुराएर धन्यवाद दिन सक्छ र ?
युगौं युगदेखि निःस्वार्थ, निरुद्देश्य शाश्वत रुपमा फूलहरु फूलेजस्तै
आफ्नो स्वधर्म निभाएजस्तै
तिमी सबैलाई प्रेम गर मानव
किनकि प्रेम नै मानिसको प्राकृतिक स्वभाव हो
एकमात्र स्वधर्म हो एउटालाई प्रेम गर्ने
दोस्रोलाई घृणा गर्ने भन्ने नै हुँदैन
यथार्थमा एउटालाई गर्दा चोखो हुने धेरैलाई गर्दा बिटुलो हुने नै हुँदैन खासमा
बुद्ध र महावीरजस्तै
कृष्ण र क्राइस्टजस्तै
सबैप्रति समभाव राख्ने सबैलाई प्रेम गर्ने
तिमी स्वयंमा प्रेम हौ मानव
प्रेम मात्रै
प्रेमको डल्लो उर्फ प्रेमको पिण्ड
यानि प्रेमपिण्ड
सबैलाई प्रेम
सबैतिर प्रेम
यत्रतत्र
सर्वत्र
सर्वव्यापी
प्रेम नै भूत, प्रेम नै वर्तमान र प्रेम नै भविष्य
प्रेम नै जीवन
प्रेम नै लक्ष्य
प्रेम नै मानव
मानव नै प्रेम
सिर्फ प्रेममात्रै
दिव्य फूलहरूजस्तै ।