गाउँमा

एउटा ओत थियो

जहाँ भन्दा पर

मलाई मेरो संसार

छैन जस्तो लाग्थ्यो

बाँच्नलाई त्यहाँ भन्दा सहज

कहीँ छैन जस्तो लाग्थ्यो

 

तर समयले चारैतिर उज्यालो बाँडिसक्दा पनि

मैले लाट्कोसेरो जस्तो बाँचिरहनु पर्यो

 

र एक दिन सखारै

देउरालीबाट घरगाउँ फर्किहेरेर

समयको बक्र भर्याङमा उक्लिदै

दुरी छिचोल्दै यहाँ आई पुग्दा

सम्झन्छु

स्मरण पत्रहरूमा

खाली-खुट्टा मुस्कुराई रहेका शिशुहरू

फाटेको चौबन्दी र झुत्रिएको दौरामा

पसिना चुहाई रहेका किसानहरू

रोगजारको लागि भड़की रोएका

कर्मठ युवाहरू

अभावमा पिल्सी कक्रिएका

नागरिक जत्थाहरू

लाम लागेर आउँछन्

पीड़ा भुटिएको हाँडीबाट

 

श्रम बेचेर सारङ्गी पेट छ एकातिर

सपना बेचेर किर्ना जीवन छ अर्कोतिर

म त्यही ओतबाट जीवन कोल्टे फेर्न हिँडिरहेछु

मेरो पछि लागिरहेछ मेरो देश

म ठाउँ पाउन साथ

समय उब्रन साथ

वरिपरि सबैलाई भन्छु

बुद्ध नब्यूँझिए पनि

सगरमाथा नरोए पनि

रोइरहेछु म चुपचाप यहाँ

गाउँको त्यही अँध्यारो ओतलाई सम्झेर।