एक रात सर्पले टोकेर आयो एउटा बालक
सास फेर्न गाह्रो भयो मैले उपचार गरेँ
बालक बाँच्यो मेरो खुसी बाँच्यो
एक बिहान दमले च्यापेर आइन् बुढी आमा
मैले उपचार गरेँ, आमा हाँसिन्
चाउरिएका हातले सुम्सुमाउँदै भनिन् आशीर्वाद
कैयन् अनिँदा रातहरूमा मैले
धेरै बिरामीका आफ्नाको आँसु पुछेको छु
मान्छे भगवान् भन्थे, म मख्ख पर्थें

एक साँझ पार्टीमा रक्सी पिएर आयो एक युवक
उस्को पेट दुखिरह्यो
मैले उपचार गरिरहेँ
दुई रात अनिदो
उसको उपचारमा कुरेर बसेँ
गर्न सके जति गरेँ
गर्न मिल्ने जति गरेँ
ऊ निको भएन
ऊ मर्यो !
एक हुल मान्छे आए, समाते मेरो कठालो
भन्न थाले नक्कली डाक्टर
च्यात्न थाले मेरो सेतो कोट
र हिर्काउन थाले मेरो टाउकोमा
बेहोस भएर म लडेँ
आँखा उघारी हेर्दा धमिलो थियो
आँखाभन्दा धमिलो थियो मन
धमिलो थियो भविष्य
र सबैभन्दा धमिलो थियो आत्मसम्मान
मेरा हात गोडा काँप्न थाले
मेरा आँखाहरू थामिएनन्
म रोइरहेँ, धेरै बेर रोइरहेँ
आजकल मलाई डर लाग्न थालेको छ
प्रत्येक बिहान आफूलाई ऐनामा हेर्छु
पाउँदिन ती आँखामा हिजोको चमक
पाउँदिन ती ओठहरूमा हिजोको मुस्कान
म बारम्बार झस्कन्छु
अतीतले बेस्मारी घोच्छ र
घन्किन्छ्न् ती दुई आवाज “नक्कली डाक्टर”
बुझेको छु, रहरहरूले कसरी निस्सासिने बनाउँदो रहेछ
बुझेको छु, सपनाहरू कसरी मर्दा रहेछन्
बुझेको छु, आफ्नै निर्यण कति निर्मम हुन्छ
र बुझेको छु, भगवान् कसरी दानव बन्छ ।

चितवन मेडिकल कलेज