पहाड उभिएर ऊ
फुलाइरहेछ काखमा
सुनाखरीको वासना
सुमसुम्याइरहेछ उसको केश
कहिल्यै नओइलिने
नौरङ्गी गुराँसका बहुरङ्गी प्रेमफूलहरूले

सिरेटोले चिस्याउन खोज्छ निधार
तुफानले उजाड पार्न खोज्छ अनुहार
दुःखले चट्याङ लिएर
छातीमा रोपिन आउँछ कहिले
हिउँदहरू चीसोको साक्षी भएर
खोस्न खोज्छन् गोधूलि हाँसोहरू र
रातो फूलजस्ता कोमल सुखहरू

तर
ऊ पहाड न हो
दु:खलाई काखी च्यापेर
ढुङ्गाजस्ता शूलहरूलाई छातीभित्र छोपेर
उल्टै फुलाइदिन्छ सृजनाका इन्द्रेणी गुराँसहरू
र रोपिदिन्छ सुकीर्तिका बास्नादार बुकीहरू

हिउँ पर्दा
रुनु छैन उसलाई
सजाउनु छ शिरमा सेतो हिउँफूल
अनि
उचाल्नु छ
अर्को उचाइ
हिमाल बनेर

चट्याङ खस्दा चहर्याउनु छैन उसलाई
बरू भर्नुछ हत्केलाहरू
सल्लाघारीजस्ता हरिया सहभावहरूले

उसलाई
बचाउनु छ
छातीमा फुलिरहेको सुनाखरीको सुवास
त्यसैले ऊ
उमार्छ साहसका धुपीहरू

टाँसिरहन्छ छातीमा
सुनाखरीका सुस्केराहरू
प्रेमका कलिला भुवाजस्ता स्पर्शहरूले

सुनाखरी बेचैनमा छ यतिखेर
समयले
खसालिरहेछ दु:खका असिनाहरू
उसको मुटुमा
उसको छाती चस्केर यतिखेर
मागिरहेछ न्यानो ममता
पहाडसँग
र टाँसिइरहेछ बचेराझैं उसको वक्षस्थलमा

सुनाखरीको दुःख साट्न
परदेखि आउँछन् र
सान्त्वनाको गीत गाएर जान्छन् मलेवाहरू
वरदेखि आउँछन् र
भरोसाको धुन छोडेर जान्छन् जोडी ढिकुरहरू

तर
पहाड
पहाड न हो
सङ्गालेर सबै धुनहरू
तोपेर सबै गीतहरू
बुनिरहेछ
कलेजोका भित्ताभित्ताहरूमा
अथाह सुनाखरीप्रेमको सङ्गीत

बटुलेर सुकिला हिउँफूलहरू
उचालिरहेछ उचाइको प्रेमगीत ।