तिमी आयौ पारिबाट म उक्लिएँ वारिबाट
बरपिपलको चौतारीमा एकैछिन थकाइ मार्दा
दोबाटोमा हेर्यौ तिम्ले मैले हेरेँ तिमीलाई
एउटै बाटो भञ्ज्याङसम्मै सँगै हिडौँ भन्न खोजेँ
आँखा आँखा हेरिरहे एकै शब्द बोलिनौ त
पीडा लुकाई मुटुभित्रै मनको चाह खोलिनौ त !

दुई खोलीको दोभानमा सँगसँगै पौडिएर
बालुवामा घुँडामारी सिन्को लुकाई खेल्दैगर्दा
टोलाएर हेर्यौ तिम्ले मैले हेरेँ तिमीलाई
कोशीबीच छालमारी सँगै बगौँ भन्न खोजेँ
मन छचल्कियो बुझेँ ओठ खोली बोलिनौ त
व्यथा लुकाई मुटुभित्रै मनको चाह खोलिनौ त !

इन्द्रेणीको सातै रङ्ग टिपी सिउँदो भर्न चाहेँ
साँझपख रिम्झिम् रिम्झिम् वर्षातमा भिज्दै गर्दा
जून आई किरण छर्दै मिलनको क्षण सम्झी
स्वीकृतिका दुई शब्द मौनता मै सुन्न खोजेँ
आँसु पोखी परेलीमा सुँकसुँकाउन छोडिनौ त
ओठ टोकी टोलाई रह्यौ मनको चाह खोलिनौ त !