देशमा आक्रान्त छ
अशान्ति फैलिदै छ
हत्या, हिंसाको जोड घटाउ चलिरहेकै बेला
धनी, गरिबको दूरी बढेको बेला
तछाड मछाडको होड चलेको समय,
ए ! बुद्ध
तिमी किन घरी यता
घरी उता फर्कन्छौ ।
विन्ती छ बुद्ध तिमी यता फर्किदेऊ ।

न्यायको तराजु पनि भाँचियो
शक्तिको लागि चाकडी बढ्दै गर्दा
गरिबको महल कता हरायो कता
दिनदिनै दन्केको आगोको रापले
तिम्रा आँखाहरू पनि रसाउन पो थालेकी
त्यसैले बुद्ध तिमी चिम्लेर उताको उतै नफर्क
बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ ।

महामारीले विश्वनै हल्लिदा
कमिसनको खेलमा रुमलिँदा रुमलिँदै
गरिबले झुपडीमा पनि निद्रा नपाउँदा
महलभित्र कुर्सी तानातान हुन्छ
बेरोजगार युवाले रोजगार खोज्दै आवाज उठाउँदा
भिजिलान्तेको उपमाले पुजिन्छ ।
कोलाहललाई सुन्न नसकेर हो ? वा किन हो ?
त्यसो नगरीकन
बिन्ती छ बुद्ध, तिमी यता फर्किदेउ ।

शक्तिको भक्ति गाउनेहरू
महलमाथि महल थपिरहेका छन् ।
झुपडीमा महलको सपना देख्नेहरू
त्यही झुपडीमा पनि मज्जाले निदाउँन पाएका छैनन्
मान्छे मान्छेबीचको किनमेल चलेको बेला
शान्ति, न्याय, सुशासन विलीन हुने नै भयो
अन्यायको विरुद्ध बोल्ने बेला भो
त्यसैले
बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ ।

न्याय, अन्याय छुट्याउन तिम्रा आँखाहरू
बन्द रहँदा
शान्तिको धुन सुन्ने कानहरू
कोलाहलले दबिएर बैरो भएको बेला
घरी घरी उता फर्किरहने
तिम्रा निष्पक्ष मनहरु
भो, अब अति भयो बुद्ध
त्यसैले,
बिन्ती छ बुद्ध, तिमी यता फर्किदेऊ ।