सायद जिन्दगीको परिभाषामा
दर्शनले मूल्यबाेध गर्थ्याे भने
कसैले पाल्दैनथे हाेला आशाका बचेराहरू
आकाङ्क्षाका पाेथ्रामा झुण्डिएर
किन गरिन्थे आत्महत्या
या
हाराकिरी
नबुझेरै बाँच्नुकाे पनि साैन्दर्य छ त !
हाे त्यहिभित्र जन्मेकाे भाेककाे चिन्तनमा
खाेज्नु के ?
जानेर नसक्नुकाे उद्देश्यभित्र
कति रुमलिनु
कहाँ हराउनु कहाँ खाेज्नु
भाेककाे महा दर्शन !!

सायद बाँच्नुकाे सारभित्र
कतै भेटिन्छ त मृत्युकाे साैन्दर्यबाेध
जे देखिन्छ त्याे सत्यभित्र
जे सुनिन्छ त्यही सत्यभित्र
वा
जे बुझिन्छ
जे अनुभूति भित्र
कति प्रतिशत पाइएला सत्यकाे भ्रम
शून्यबाट माथि उठेर भेटिएकाे
एक कि अर्काे शून्यमा छ
जीवनवादी दर्शन !!

मर्नु वा मार्नुकाे रहरभित्र
लुकेका उपलब्धि
महाभारतमा कृष्णले अर्जुनलाई दिएकाे
ज्ञान हाे कि युद्ध उपदेश
मरे स्वर्ग जिते राज्य
त्यहि मतिभ्रममा के बाँच्छ ?
मान्छे कि धर्म
मन्दिरकाे प्राङ्गणमा रेटिएकाे बाेकाले
मुक्ति पाउँछ कि
बाँच्नेकाे भाेककाे समन
सायद यहि हाे
मूर्ति जिन्दगीको साैन्दर्यबाेध !

झिनाे उद्देश्यपूर्तिका निम्ति
बलि हुनुकाे
अस्तित्व भित्र
खाेज्नु छ अब
जिन्दगीको साैन्दर्यशास्त्र !

यी बाेक्रे चेतनाकाे लेप लगाएर
कति पाइला हिंड्न सकिएला
एउटा स्यालकाे निल श्रृङ्गार
पुन: मुसिकाे भवमा सकिन्छ
भ्रम या घमण्ड
अभाव या आकाङ्क्षाकाे कुन सिराबाट
बग्छ चेतनाकाे बिज
कहाँ गएर पछारिन्छ
स्व अस्तित्वको खाेजिकाे यात्रा
मृत्युसम्म उक्लिएर या
मृत्युलाई साथ लगाएर
खाेज्नुछ अब जिन्दगीको साैन्दर्यशास्त्र !

 

चन्द्रागिरि-०२, काठमाडौं