जय होस् महासय हजुरहरू सबैलाई !
दिनभरको मजदुरीले चुलो बाल्न नपुगे के भो ?
अरे, घाममा बोरा बोक्दा ढले पनि केही हुन्न गरिब,
पाकिरहेकै छन् त अनेकौं व्यञ्जन घरमा यहाँको,
आएकै छ मार्सी चामल र ग्यास फ्रीमा, फिक्री छैन,
गरिरहनुभएकै छ करोडौँको हिसाब, ढोका बन्द गरी ।
सुनुहोस् न, सिलिन्डर अलि सस्तो पो भयो कि !
अझ चामलको त के कुरा गर्नु ? धेरै सस्तो छ ।
बढाउनु पर्छ है अझै, चाडपर्व जो आइरहेका छन्,
ठग्नु पर्छ नि जनताहरू, मौका यही हो ।
कुटिरहन पनि दिनुपर्छ ज्यान बचाउने डाक्टरहरूलाई
तर छुटाउनुपर्छ ज्यान मारेर जन्मकैद पाएकाहरूलाई ।
बजेट त पुग्दैन होला शिक्षा दिने शिक्षकलाई सुविधा दिन,
ओहो ! अझ प्रोफेसरलाई त देशबाटै पो लखेट्ने कि !
व्यापार-व्यवसाय डुबेर सुसाइड गरे पनि गरिरहुन्,
आगोमा दनदनी जिउँदै बले पनि बलिरहुन्, के मतलब ?
बाढीले घरबार बगाएर भोकै मरे पनि मरिरहुन् जनता,
बस्, हजुरहरूले अरबौँ पैसा जम्मा गरिहाल्नु पर्छ,
किनकि, घरिघरि मन्त्री हुन नपाइने पनि त हुनसक्छ !
उद्योग कलकारखाना होइन महल बनाउनुस् राज गर्न,
आफ्नो खर्चमा विदेश जान गाह्रो पर्ला पछि,
मौका यही हो, अहिलै घुम्नुहोस् सयौँ देश मज्जाले,
रगतपसिना बगाएर तिरेको हाम्रो करबाट आन्नदले ।
टेक्कापट्टा मिलाउनुहोस्, कमिसन खानुहोस्,
‘हस् हजुर’ भन्दै साइन गरी लिनुहोस् डलर ब्रिफकेसमा,
अनि जम्मा गर्नुहोस् अरबौँ रकम स्वीस बैङ्कमा,
कम्तिमा तीनचार वर्ष मन्त्री हुँदा
तीन पुस्तालाई त पुगोस् मोज गर्न – होइन र हजुर ?
उता शान्ति डायलसिस गर्न कुर्दाकुर्दै ढलिछन्
मुटुको अपरेसन गर्ने मिति गन्दागन्दै
रामलालले प्राण त्यागी सकेछन्,
उफ् !
हरिले क्यान्सरको उपचार गर्न बेचेछन् घरखेत,
बिनाले सुत्केरी बेथामै चिम्लिछन् आफ्नै चार आँखा,
मरी रहुन् न गरिब, के भो ?
उपचार गर्न खर्च न पुगेर के भो ?
तर हजुरचाहिँ पेट दुख्नासाथ चार्टरमा विदेश गइहाल्नु पर्छ है !
फेरि ‘देश खान’ स्वास्थले नदेला भन्ने चिन्ता भइरहन्छ ।
केही हुन्न विद्यार्थीहरू तुइनमा झुन्डिएर स्कुल गए,
अनि बेलुका खोलाले बगाएर घर नफर्के पनि ।
बुबाआमा बियोगमा छटपटिएर तडपिए पनि केही हुन्न,
तपाईंका छोराछोरीले पढेकै छन् डाक्टरी अमेरिकामा,
पढेर इन्जिनियरिङ पाइसके रे पिआर अस्ट्रेलियामा ।
अरे, छोड्नुहोस् ! खाडीमा रगतपसिना बगाउने,
दुई छाक खान दिनभर गिट्टी कुट्नेहरूका कुरा ।
लुकाउनु पर्छ पीडितले नाम ‘इज्जत’ जान्छ भनेर,
सम्मान, पद र प्रतिष्ठा दिलाउनु पर्छ अपराधीलाई,
यसरी नै हो राख्ने नाम इतिहासका पनाहरूमा,
खोलेर स्याम्पियन, दिनुहोस् है ग्रयाण्ड पार्टी रिसोर्टमा,
जय होस् महासय, हजुरहरू सबैको जय होस् !!!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।